दिनेश शर्मा
राजविराज- प्रदेश २ मा एसइईको प्रश्नपत्र परिक्षा अघि नै बाहिरिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले छानबिन थालेको छ।
विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको आशंकामा सीआइबीको टोली पहिलो चरणमा सप्तरी पुगेको हो।
डिएसपीको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले सप्तरीबाट काम सुरु गरिसकेको एसपी राजेन्द्र विष्टले बताए।
अनुसन्धान टोलीले आईटी विशेषज्ञको सहयोग लिएर काम गरिरहेको उनले जानकारी दिए।
सिआइबी अनुसन्धानबाट घटनाको सत्यतथ्य खुल्ने प्रहरीको भनाइ छ।
लगातर प्रश्नपत्र आउट हुन थालेपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा शनिबारदेखिका सबै विषयको परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ।
१४ गतेअघि सञ्चालित अंग्रेजी, नेपाली र गणित विषयका परीक्षा भने रद्द गरिएका छैनन्।
यसवर्ष प्रदेश २ का २ सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सहभागी छन्।
जिल्ला परीक्षा समन्वय समितिको पत्रकार सम्मेलन
यसैबीच जिल्ला परीक्षा समन्वय समिति सप्तरीले शनिबारै पत्रकार सम्मेलन गरी एसइईको कुनै पनि प्रश्न पत्र सप्तरीबाट आउट नभएको दाबी गरेको छ।
परीक्षा अघि नै बाहिरिएको हल्ला सुनेपछि प्रहरीले आफ्ना सबै युनिटमा प्रश्नपत्र जाँच गरेको र सबै पोका दुरुस्त फेला परेको सप्तरीका सिडिओ तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले दाबी गरे।
‘विज्ञान विषयको प्रश्न पहिले नै आउट भएको जानकारी पाउनासाथ हामीले पोका चेक गर्न प्रहरी खटायौं। सबै पोका सुरक्षित थिए,’ उनले भने, ‘तर, परीक्षा केन्द्रमा पुग्दा प्रश्न नं. र ग्रुप समेत छुट्याएर घरबाटै ल्याईएका फ्ल्याप फेला परेपछि कहिँ न कहिँबाट प्रश्न आउट भएको निष्कर्ष सहित हामीले परीक्षा रद्द गर्न सिफारिस गरेका हौं।’
शुक्रबार हुने सामाजिक विषयको परीक्षाको प्रश्नपत्र बिहिबार राति नै बाहिरिएको हल्ला चलेपछि पुनः प्रश्नपत्र रुजु गरी केन्द्राध्यक्षहरूको रोहबरमा भिडियो खिचेर मुचुल्का उठाएर मात्र वितरण गरिएको जानकारी दिँदै पौडेलले भने, ‘तर, परीक्षा पहिला नै रद्द भयो।’
सप्तरीमा फ्ल्याप फेला परेको र परीक्षा रद्द गर्न सिफारिस गरेकै आधारमा प्रश्न सप्तरीबाटै बाहिरिएको पुष्टि नुहने पौडेलेको तर्क छ।
प्रश्नपत्र बाहिरिएको विषयमा जिल्ला परीक्षा समन्वय समितिले शुक्रबार पनि शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत छवि खड्काको नेतृत्वमा एक टोली बनाएर स्थलगत निरीक्षण गरेको थियो।
टोलीले जिल्लाका ३४ वटै केन्द्रका परीक्षा हुन बाँकी विषयको प्रश्न पत्रका पोकाको निरीक्षण गरी शनिबारै प्रतिवेदन बुझाएको छ। निरीक्षणका क्रममा सप्तरीमा राखिएका प्रश्न पत्रका पोका तुरुस्त फेला परेको टोली संयोजक खड्काले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।