काठमाडौं- कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि आज देशभरि नै निर्वाचन हुँदैछ। बारको २५औं केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभर रहेका १० हजार ३१३ मतदाताले मतदान गर्दैछन्।
बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म देशभरका ३५ मतदान केन्द्रबाट मतदान हुँदैछ।
नयाँ नेतृत्वका लागि प्रगतिशील, पेसागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार छन्।
बारको २५ सदस्सीय कार्यसमितिका लागि ६३ को उम्मेदवारी परेको छ।
तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एकएक गरी आठ उपाध्यक्ष निर्वाचित हुनेछन्। देशभरिबाट मतपेटिका सङ्कलन गरेपछि काठमाडौंमा मतगणना हुने बारका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए।
काठमाडौं उपत्यकाको सर्वोच्च अदालत बार कार्यालय, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।