काठमाडौं- प्रदेश २ मा एसइई प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गरी सत्यतथ्य विवरण पठाउन शिक्षा मन्त्रालयले छानबिन समितिलाई निर्देशन दिएको हो।
'बेलुका ५ बजेसम्म सबै विवरण पठाउन भनिएको छ,' मन्त्रालयको सचिव खगराज बरालले भने।
प्रदेश २ मा एसइईको सबै विषयको प्रश्नपत्र एकसाथ आउट भएको हुनसक्ने आशंका गर्दै छानबिन सुरु गरिएको छ। बिहीबार र शुक्रबारका विज्ञान र सामाजिक विषयका प्रश्नपत्र आउट भएपछि यसअघि भएको परीक्षाबारे पनि प्रश्न उठेको छ।
प्रदेश सरकारले गठन गरेको छानबिन समितिका सदस्य समेत रहेका प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले छानबिन भइरहेको जानकारी दिएका छन्।
प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले घटना छानबिन गर्न शिक्षा विकास निर्देशनालयका निर्देशक रामाकान्त शर्माको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ। समितिको सदस्यमा मन्त्रालयका सचिव ठूलोबाबु दाहाल र कानुन मन्त्रालयका उपसचिव अरुणकुमार झा रहेका छन्।
सामाजिक र विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै आउट भएपछि विद्यार्थीहरु सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन्। आफ्नो भविष्यमाथि खेलबाड गरेको भन्दै उनीहरुले आज आगजनी र ढुंगामुढा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।