काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनका लागि नेपाल आएका विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न दुविधा नहुन आग्रह गरेका छन्।
आजबाट काठमाडौंमा सुरु भएको दुईदिने सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको लगानीमा सबै क्षेत्रमा नाफा हुनेसमेत भएकाले लगानीमा ढुक्क हुन आग्रह गरे। ‘नेपाल लगानीका लागि भर्जिन ल्यान्ड हो, यहाँ सबै क्षेत्रमा नाफा छ,’ उनले भने,‘ जलविद्युतमा पर्यटन, पूर्वाधार, सूचना प्रविधि, उद्योग, खानी लगायतका क्षेत्रमा उच्च सम्भावना छ, प्रशस्त नाफा लगानीकर्ताहरुले कमाउनु हुने सम्भावना छन्।’
प्रधानमन्त्री ओलीले सरकारले अब दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य राखेर काम गरिरहेको भन्दै त्यसका लागि स्वदेशी पुँजी पर्याप्त नभएको बताए।
‘हामीलाई दोहोरो अंकको वृद्धि हात पार्न ठूलो विदेशी लगानी आवश्यक छ, त्यसका लागि हामीले विदेशी लगानीलाई सहज रुपमा भित्र्याउन कानुनहरु संशोधन गरेका छौं,' उनले भने, ‘नयाँ कानुन ल्याएका छौं, हामी नाफाको सम्मान गर्छौं, लगानीबाट प्राप्त लाभांश फिर्ता लैजान पनि रोक्दैनौं।’
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको साथबिना ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना पूरा नहुने भन्दै त्यसैलाई ध्यानमा राखेर लगानीमैत्री कानुनहरु बनाइएको बताए। उनले नेपाल भूराजनीतिक हिसाबले निकै महत्वपूर्ण ठाउँमा रहेको भन्दै यहाँ गरिने उत्पादन भारत र चीनजस्ता ठूला बजारमा सजिलै लैजान सकिने बताए।
उनले सरकारले पारदर्शी भएर काम गर्ने भन्दै कुनै पनि सिन्डिकेटलाई संरक्षण पनि नगरिने लगानीकर्तालाई आश्वास्त पारे।
करलाई अनुमान योग्य बनाउने, लाभांश सजिलै फिर्ता लैजान दिने, लगानी भित्र्याउने प्रक्रियालाई सहज बनाउने, बिजुलीको आपूर्तिलाई प्रत्याभूत गर्ने, औद्योगिक पूर्वाधार उपलब्ध गराउने, सूचना प्रविधिमा आधारित भएर काम गर्ने लगायतका विषयमा सरकार प्रतिबद्ध रहेको ओलीले बताए।
‘हामीले व्यापार सहजीकारण लागि विभिन्न काम गरेका छौं, भारतसँग जलमार्गबाट पनि छिट्टै जाडिँदैछौं,’ ओलीले भने, ’चीनसँग पनि पारहवन प्रोटोकलमा छिट्टै हस्ताक्षर हुँदैछ। यसले यहाँ हुने लगानीलाई अझ सहज गर्छ भन्ने हाम्रो विश्वास छ।’
उनले विदेशी लगानीकर्तालाई दोहोरो करको मार पर्न नदिन विभिन्न देशसँग दोहोरो करमुक्ति सम्झौता भइरहेको भन्दै बौद्धिक सम्पत्तिको संरक्षणलाई पनि ध्यान राखेर ऐन ल्याउन लागिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।