जनकपुर– एसइई अन्तर्गत आज शुक्रबार हुने अनिवार्य सामाजिक विषयको प्रश्नपत्र आउट भएको भन्दै परिक्षा स्थगित भएपछि प्रदेशका अधिकांश जिल्लामा विद्यार्थीले प्रदर्शन सुरु गरेका छन्। विरगञ्ज, धनुषा, सप्तरी लगायतका जिल्लामा प्रदर्शन भइरहेको छ।
परीक्षा सुरु हुनु एक दिन अगावै सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो। बिहीबार रातिदेखि नै प्रश्नपत्र सामाजिक सञ्जालमा देखिएका थिए।
नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै विद्यार्थीहरु आक्रोशित भएका छन्। विद्यार्थीको भविष्यसँग खेलबाड गरेको भन्दै जनकपुरको भानुचोकमा प्रदर्शन गरिरहेका छन्।
सप्तरी सदरमुकम राजविराजमा विद्यार्थीहरुको आक्रोशित भीड नाराजुलुस सहित बजार परिक्रमा गरिरहेको छ। विद्यार्थीले केही समय रुपनी–राजविराज सडक अवरुद्ध समेत गरेका थिए। प्रहरीको प्रयासपछि यातायात सुरु भएको छ।
कतिपय विद्यार्थीले भने प्रश्नपत्र आउट भएपछि परिक्षा स्थगन हुनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन्। चिटका कारण पढ्ने विद्यार्थीको मूल्यांकन नहुने र परीक्षा हलमा हुने अशान्तिले राम्रो विद्यार्थी फेल हुनसक्ने भन्दै रद्द भएकासहित अवको परीक्षा शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन उनीहरुले माग गरेका छन्।
प्रदेश २ का दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।