• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सञ्जय टक्ला : सडकको गुन्डा हुँदै राज्यमन्त्रीदेखि जन्मकैदसम्म

64x64
नेपाल लाइभ बिहीबार, चैत १४, २०७५  ०९:२१
1140x725

अजय शाह


जनकपुरधाम- जनकपुर बम काण्डका प्रमुख योजनाकार भनिएका तत्कालीन सभासद एवं पूर्व राज्यमन्त्री सञ्जय साह (टकला)लाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाइएको छ।

गत ६ वर्षअघि जनकपुरधामको रामानन्द चौकमा मिथिला आन्दोलनका क्रममा गराइएको बम विस्फोटको मुद्दामा अन्तिम सुनुवाई गर्दै जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो।

जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले साहसहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको सोही अदालतका श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए।

जन्मकैदको सजाय पाउनेहरुमा प्रमुख योजनाकार भनिएका सञ्जय साह, अर्जुनसिंह विद्यार्थी भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेका छन्।

वि.सं.२०६९ साल बैशाख १८ गते मिथिला राज्य संघर्ष समितिको आह्वानमा जनकपुरको रामानन्द चौकमा भएको विरोध कार्यक्रमका क्रममा बम विस्फोट भएको थियो। सो विस्फोटमा परी ५ जनाको मृत्यु भएको थियो। विस्फोटमा कलाकार रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो।

आरोपित साह २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमका तर्फबाट धनुषा-४ मा विजयी भएका थिए। यसैगरी दोस्रो संविधानसभामा तत्कालीन सद्भावना पार्टीका तर्फबाट धनुषा-३ मा विजयी भएका थिए। पहिलो संविधानसभा निर्वाचनपछि मधेशी जनअधिकार फोरम विभाजित भएर फोरम लोकतान्त्रिक बनेसँगै सोही पार्टी प्रवेश गरेका साह भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री बन्न सफल भए। 

को हुन् संजय टक्ला? 
२०६४ साल चैत्र २८ मा सम्पन्न भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषा-४ बाट संजय साह पहिलो पटक निर्वाचित सांसद् भएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

जनकपुरमा 'डन'को छवि बनाएका साहले सभासदमा निर्वाचित भएपछि स्वचालित बन्दुकबाट तीन राउन्ड फायर गर्दै खुसी मनाएका थिए। विद्यार्थी जीवनबाटै ‘डन’का रुपमा परिचित उनलाई जनकपुरतिर ‘संजय टक्ला’ उपनामले चिनिन्छ। ठेक्कापट्टाबाट मनग्गे कमाएका उनी पैसा भएकै कारण टिकट किनेर संविधानसभा निर्वाचनका केही दिनअघि मात्र उपेन्द्र यादव नेतृत्वको फोरम प्रवेश गरेका थिए।

फोरम नेपालको टिकट पाएर प्रत्यक्ष निर्वाचनमा संजय कुमार साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भए। उक्त निर्वाचनमा साहले नेकपा एमालेका नेता रघुवीर महासेठलाई पराजित गरे। महासेठले ९ हजार २ सय ८२ मत मात्र प्राप्त गरी निकटतम प्रतिस्पर्धी बनेका थिए। 

त्यसैगरी, २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा धनुषा-४ बाट साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भए। सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियत पाएका साह दोस्रो पटक पनि निर्वाचित भए। साहले नेपाली कांग्रेसका धनुषा सभापति तथा पूर्व सभासद रामसरोज यादवलाई पराजित गर्न सफल भए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुई निर्वाचनमा जीत निकालेसँगै साह नै त्यस्ता नेता बन्न सफल भए, जो जनकपुर क्षेत्रमा लगातार दुई पटक निर्वाचन जित्न सफल भएका हुन्। त्यस अघिसम्म जनकपुरमा कुनै पनि नेताले लगातार २ पटक जित्न सकेका थिएनन्। 

जनकपुर बम काण्डको नालीबेली
जनकपुर बम काण्डमा तत्कालीन सभासद् एवं सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका साह र तराई जनतान्त्रिक पार्टी मधेश नामक भूमिगत संगठनका अध्यक्ष मुकेश चौधरीबीच ६० लाख रुपैयाँको ‘डिल’भएको खुलासा भएको थियो। 

सशस्त्र समूहका नाइके मुकेश चौधरी २०७० फागुनमा पक्राउ परेपछि बम काण्डमा सभासद् साहको संग्लनताबारे रहस्य खुलेको हो। चौधरीको प्रारम्भिक बयानका आधारमा प्रहरीले पहिले ओमप्रकाश यादवलाई पक्राउ गरेको थियो। यादवले विस्फोट योजनाकै सिलसिलामा साहले दिएको ८ लाख रुपैयाँ मुकेशलाई भारतमा गएर दिएको बयान प्रहरीसमक्ष दिएका थिए।

स्रोतका अनुसार साहले धनुषा जिविसका सह-लेखापाल जीवनाथ चौधरीलाई ‘हत्या’गर्ने गरी बम विस्फोट गराउने योजना बनाएका थिए। त्यस बापत साहले मुकेशलाई ६० लाख रुपैयाँ दिने वाचा गरेका थिए। तर घटनामा जीवनाथ बाच्न सफल भए। 

यसपछि साहले उनलाई वाचा गरेको रकम नदिएका कारण विस्फोट योजना बनाउने क्रममा साह र मुकेशबीच भएको टेलिफोन वार्ताको अडियो चुहिएको थियो। विस्फोटपछि सभासद् साह र मुकेशको सम्बन्ध बिग्रियो।

मुकेशले विस्फोटको केही समयपछि आफ्नो सम्पर्कमा रहेका केही पत्रकारलाई साहले आफूलाई धोका दिएको बताए। यसका साथै आफ्ना सबै मान्छे पक्राउ गराइदिएको भन्दै उनलाई सिद्ध्याइदिने चेतावनी दिएका थिए। साहले पनि आफूलाई मुकेशले फसाउन खाजेको बताउँदै आएका थिए।

उनीहरूको टेलिफोनवार्ता समेटिएको समाचार बाहिर आएपछि प्रहरीले अनुसन्धान गरी उक्त वार्ता सभासद् साह र मुकेशकै भएको प्रमाणित गरेको थियो।

समाचार प्रकाशित भएको ४ दिनपछि प्रहरीले सभासद् साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उनी फरार भएको भन्दै प्रहरीले पक्राउ गर्न भने सकेको थिएन।

२०७० फागुन १९ गते प्रहरीले मुकेशलाई भारतीय सुरक्षा निकायको सहयोगमा भारतबाटै पक्राउ गरेर ल्यायो। मुकेशका साथबाट प्रहरीले ८ वटा सिमकार्ड, एउटा ट्याब्लेट, एउटा पेस्तोल र भूमिगत संगठनसम्बन्धी केही दस्तावेज बरामद गरेको थियो।

चौधरी पक्राउ परेपछि तत्कालीन सांसद साहको समेत पोल खुलेको हो। चौधरीलगत्तै पक्राउ परेका ओमप्रकाश यादवले पनि जीवनाथ चौधरीको हत्याका लागि रामानन्द चोकमा विस्फोट गराउन लगाएको बयान दिएका थिए।

ओमप्रकाश यादव पक्राउ परेको सूचना पाएलगत्तै तत्कालीन सांसद् संजय कोठामै मोबाइल छाडेर काठमाडौंबाट फरार भए। आफ्ना सहयोगीमार्फत् जनकपुरमा सम्पर्क गरिरेहका सञ्जयलाई विस्फोट भएको दुई वर्षपछि प्रहरीले दिल्लीबाट पक्राउ गर्न सफल भयो। 

प्रहरी अनुसन्धानबाट सभासद साह र मुकेशबीच पुरानो सम्बन्ध रहेको देखियो। कल डिटेललगायत केही प्रमाणका आधारमा साह नै सशस्त्र समूहको सञ्चालक रहेको निष्कर्ष प्रहरीले निकाल्यो।

प्रहरी अनुसन्धान अनुसार साहले प्रयोग गरेका मोबाइल नम्बर ९८५४०२०२०७, ९७२१५४९८३८ र ९८१६८८४५५१ तथा मुकेश चौधरीले प्रयोग गरेका भारतीय फोन नम्बर ८०९०३७५५६९ र ९१२५३१४७९९ बीच २ सय ४० मिनेटभन्दा बढी कुरा भएको देखियो। विस्फोट भएको दिन उनीहरूबीच ७ पटक कुरा भएको थियो। त्यस बेला एक सातामा ६५ पटक साहले चौधरीसँग कुरा गरेका थिए।

०६९ वैशाख १८ गते रामानन्द चोकमा आरडीएक्सयुक्त बम रिमोट कन्ट्रोलमार्फत् विस्फोट गराइएको थियो। ५ जनाको हत्या हुने गरी गरिएको त्रासदीपूर्ण सो घटनाको २ भूमिगत सशस्त्र समूहले जिम्मेवारी लिएपनि मुख्य योजनाकार पूर्वमन्त्री साह रहेको दाबी गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गर्‍यो। 

कार्यालयले २०६९ जेठ २९ मा ८ जना र २०७० चैत २४ गते साहसहित ६ जनाविरुद्ध पूरक अभियोगपत्र दायर गरेको थियो।

तत्कालीन प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्याल संयोजकत्वको समितिले प्रारम्भिक अध्ययन गरेको थियो। अध्ययनका विषय सार्वजनिक गर्न अञ्चल प्रहरी कार्यालय जनकपुरमा गरेको पत्रकार सम्मेलनमा विस्फोटमा राजनीतिक संलग्नता रहेको आशंका गरिएको थियो। पछि सरुवा भएर प्रहरी उपरीक्षक उत्तम सुवेदी जनकपुर पुगे। उनले महानिरीक्षक अर्याल समितिका सदस्य तत्कालीन प्रहरी निरीक्षक गोविन्द पुरीको नेतृत्वमा विस्फोटको गुत्थी सुल्झाउन दर्जनौं अपरेसन चलाए।

२०६९ पुस ४ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा साहविरुद्ध परेको उजुरीमा उल्लेख छ, ‘सञ्जय साहले मधेसमा रहेका भूमिगत आपराधिक समूह र पार्टीसँग समेत साँठगाँठ राखेका छन्। त्यसमा प्रमुख हुन्, आकाश त्यागी भनिने श्रीराम यादव, पृथ्वीसिंह भनिने श्याम यादव, अर्जुन सिंह र प्रकाश विद्यार्थी भनिने मुकेश चौधरी। मुकेश र श्रीरामले भूमिगत हुनुभन्दा अगाडि पनि सञ्जयकै गुन्डागर्दीको फर्ममा कार्य गरेका थिए।’ 

यी भूमिगत समूहलाई परिचालन गरेर साहले जनकपुर क्षेत्रका उद्योगी, व्यापारी, निर्माण व्यवसायी, सरकारी कार्यालयका प्रमुख र अन्य कर्मचारीलाई धम्क्याई मोटो रकम असुली गर्दै आएको र रकम दिन नमाने हत्या गर्ने गरेको पनि उजुरीमा उल्लेख थियो।

२०६० जेठ ३० गते धनुषाको सखुवा महेन्द्रनगरमा डकैती गरेको आरोपमा साहलाई १ वर्ष नौ महिना कैद सजाय सुनाइएको थियो। त्यतिबेला साहको साथबाट हतियार बरामद भएपछि हातहतियार तथा खरखजाना मुद्दामा उक्त कैद सुनाइएको थियो। साहमाथि आफ्नै गाडी चालक नन्दकुमार राउतको हत्या गरेको आरोप पनि छ। राउत परिवारले साहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेका छन्।

संजय साहको राजनीतिक यात्रा
२०६२/०६३ मा मधेस आन्दोलन हुनु अघिसम्म संजय साह ‘संजय टकला’नामले जनकपुरमा चिनिन्थे। जनकपुरमा उनलाई कतिपयले टोले गुण्डाका रुपमा समेत हेर्ने गर्थे।

जनकपुर उद्योग वाणिज्य संघको महासचिव पदमा उनी चुनाव लड्दा पराजित भएका थिए। पेशाले निर्माण व्यवसायी रहेका साह जनकपुरमा ठेक्कापट्टाको काम गर्थे।

दवङ्ग (दादा)यूवाको रुपमा रहेका साह २०६२/०६३ को जनआन्दोलनसम्म नेपाली कांग्रेससँग आबद्ध थिए। कांग्रेसमा क्रियाशील सदस्य थिए उनी। तर, उपेन्द्र यादवको नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले अन्तरिम संविधान जलाएर मधेस आन्दोलन सुरुवात गर्दा आन्दोलनसँग प्रत्यक्ष नभएपनि अप्रत्यक्ष जुटेका थिए। 

उपेन्द्र यादवसँग भेट भएपछि आन्दोलनमा होमिएका साह संविधानसभाको पहिलो निर्वाचनमा मधेसी जनअधिकार फोरमको तर्फबाट धनुषा-४ अर्थात् सदरमुकाम जनकपुरबाट टिकट पाए। उक्त चुनावमा एमालेका स्थापित नेता रघुविर महासेठलाई हराउँदै साह जितेपछि एकाएक चर्चित भए।

त्यसपछि साह फोरमको धनुषा जिल्ला अध्यक्ष हुनुका साथै केन्द्रीय सदस्य पनि भए। विजयकुमार गच्छदार भौतिक योजना तथा निर्माणमन्त्री भएको बेला साह सोही मन्त्रालयमा राज्यमन्त्री बने। पछि गच्छदारले फोरम परित्याग गरी फोरम लोकतान्त्रिक गठन गर्दा साह पनि लोकतान्त्रिकमा प्रवेश गरे। त्यहाँ भने उनी धेरै दिन टिक्न सकेनन्। त्यसपछि साहले आफ्नो छुट्टै पार्टी मधेस क्रान्ति फोरम गठन गरे।

दोस्रो संविधानसभाको निर्वाचनअघि मधेस क्रान्ति फोरमलाई सद्भावना पार्टीमा विलय गराए। राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीमा साह वरिष्ठ उपाध्यक्ष बनाइए।

दोस्रो संविधानसभाको निर्वाचनमा साह सद्भावनाबाट पुनः दोस्रो पटक जनकपुरमा निर्वाचित भए। नेपाली कांग्रेसका धनुषा सभापति रामसरोज यादवलाई उनले पराजित गरेका थिए।

संविधानसभाको दोस्रो चुनावको परिणाम लगत्तै केही महिनामै जनकपुर बम काण्डमा सञ्जय साह अभियूक्त बनाइएपछि उनी फरार भए।

२०७१ बैशाखतिर नेपाल प्रहरीले भारतबाट साहलाई गिरफ्तार गरेर ल्याएपछि संविधानसभाका तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले उनको सभासद पद निलम्बन गरे।

सुरुमा सद्भावना पार्टीले साहलाई निर्दोष भएको भन्दै बचाउ गरेपनि पछि पार्टीबाट निष्काशन गरेको थियो। एकातर्फ सदभावनाले पार्टीबाट निष्काशन गरे भने अर्कोतर्फ साहकी पत्नी रंगिलादेवी साहलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो। तर, रंगिलाले विज्ञप्ति जारी गर्दै आफू सद्भावना पार्टीमा नरहेको बताइन्। 

यसरी बने संजय टक्ला अर्बका मालिक
बेलाबेला सार्वजनिक अपराधमा पक्राउ पर्दै छुट्दै आएका सञ्जय ‘टकला’ अन्ततः ५ जनाको मृत्यु र ३२ जना घाइते बनेको जनकपुर बम काण्डमा मुछिएर जन्मकैदको सजाय पाएका छन्। 

उनलाई २०७१ बैशाखमा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेसँगै उनी संलग्न थप अपराधका रहस्य मात्रै खुल्न थालेनन्, यसबीचमा उनले कमाएको अवैध आर्जनको ग्राफ समेत अचम्मैसँग बढेको देखियो।

०६९ को जनकपुर बम काण्डदेखि ०६६ मा भएको सञ्चार उद्यमी अरूण सिंघानियाको हत्यासम्मका घटनाका मुख्य योजनाकार भनिएका साहले आपराधिक दुनियाँबाटै आर्थिक साम्राज्य खडा गर्न सफल भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले देखाएको छ।

सामान्य किसान पृष्ठभूमिका साहको परिवार डेढ दशकमै एक अर्ब रुपियाँ बराबरको सम्पत्तिको मालिक बन्न सफल भए। यसप्रति अनुसन्धान अधिकारीहरू नै अचम्भित भएका थिए। तत्कालीन ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम पराजुली भन्छन्, 'सामान्य परिवारको मानिस एकाएक अर्बको मालिक बनेको देखिन्छ। जुन अस्वाभाविक मात्रै होइन, हाम्रो सन्दर्भमा त असम्भव नै हो।'

५२ करोडको घरजग्गा
आपराधिक जालो जतिजति फिँजिदै गयो, उनको सम्पत्ति पनि अस्वाभाविक रूपमा बढ्दै गएको देखिन्छ। ०५५ अघिसम्म साह परिवारका नाममा जनकपुर नगरपालिका क्षेत्रमा एक टुक्रा जग्गा थिएन।

त्यतिन्जेल जनकपुरबाट दक्षिणपूर्व करिब सात किलोमिटर टाढा रहेको उनको पुख्र्यौली गाउँ लोहनामा १५ कठ्ठा २ धुर जग्गा उनीसँग रहेको कागजातबाट देखिन्छ। पछि भने उनको आर्थिक साम्राज्य धनुषादेखि काठमाडौँसम्म फैलिएको देखियो। मुख्यमुख्य सहरका महँगा क्षेत्रमा प्रशस्तै जग्गा जमिन उनको नाममा देखियो।

ब्युरोले तयार पारेको अनुसन्धान प्रतिवेदन अनुसार साहले आफ्नो बाहेक बुबा साधु साह सुडी, श्रीमती रंगिलादेवी साह र आमा दुलारीदेवी साहका नाममा चल/अचल सम्पत्ति जोडेका थिए।

धनुषामा मात्रै साह परिवारको दुई बिघा जमिन छ। जनकपुर नगरपालिकाभित्रै १० ठाउँमा गरी उनले करिब १० कठ्ठा जग्गा जोडेका छन्। घरजग्गा व्यवसायीहरूका अनुसार जनकपुर बजार क्षेत्रमा अहिले प्रतिधुर १५ देखि ३० लाख रुपियाँमा जग्गा किनबेच हुन्छ। प्रतिधुर औसत २० लाख रुपियाँ मान्दा १० कठ्ठा जग्गाको मूल्य ४० करोड बराबर हुन्छ।

जनकपुरको मुटु मानिने जनकपुरधाम क्षेत्रमा मात्रै ३४ धुर जग्गा जोडेका छन् र यहीँ उनले आलिसान घर पनि बनाएका छन्। धनुषाकै भरतपुर–४ मा एक बिघा जमिन भेटिएको छ भने मिथिला नपाको नक्टाझिज मा १० कठ्ठा। यो क्षेत्रमा प्रतिकठ्ठा सालाखाला १५ लाख रुपियाँ पर्छ। यस हिसाबले साहको जग्गा यी क्षेत्रमा मात्रै डेढ करोड रुपियाँको छ।

उनले सर्लाहीको विष्णुपुरमा पूर्वपश्चिम राजमार्ग किनार मै करिब नौ कठ्ठा घडेरी जोडेका छन्। यस क्षेत्रमा प्रतिकठ्ठा जग्गाको ४० लाख रुपियाँ बेसी पर्छ। यस हिसाबमा उनको जग्गा करिब ४ करोड रुपियाँ बराबरको हुन्छ। यो गाउँ हरिवन नगरपालिकामा गाभिएपछि त झनै जग्गाको भाउ अकासिएको छ।

उनकै नाममा ललितपुरको नखिपोटमा १ रोपनी २ आना जग्गामा साढे दुई तलाको घर छ। यस जग्गाको मूल्य मात्र प्रचलित दर २० लाख प्रतिआनामा हिसाब गर्दा ३ करोड ६० लाख हुन्छ। उनीसँग घरजग्गा मात्र करिब ५२ करोड रुपियाँ बराबरको रहेको देखिन्छ। 'वैध आम्दानीको स्रोतले यति छोटो समयमा ठूलो सम्पत्ति जोड्ने अवस्था देखिँदैन। त्यसैले यो सबै आपराधिक क्रियाकलापबाट कमाएको पुष्टि हुन्छ,' तत्कालिन सीआईबीका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल भन्छन्।

दर्जन कम्पनीका मालिक पनि
चल र अचल सम्पत्ति जोड्ने क्रममा उनले थुप्रै कम्पनीमा लगानी पनि गरेको पाइएको छ। साहका नाममा मात्र नौ वटा कम्पनी दर्ता छन्। कम्पनीहरू हेर्दा यस्तो लाग्छ, उनीजति विविधतायुक्त क्षेत्रमा दख्खल भएको अर्को व्यवसायी नै यो मुलुकमा छैन।

निर्माण व्यवसाय, वित्तीय कम्पनी, पेट्रोल पम्पदेखि मेडिकल क्षेत्रसम्म उनले व्यापारिक पहुँच बनाएका छन्। केही कम्पनीका त विभिन्न ठाउँमा शाखा कार्यालय समेत खोलिएका छन्।

धु्रवतारा कन्स्ट्रक्सन, मिथिला मनी ट्रान्सफर, वीरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड टेक्नोलोजी, केबी पेट इन्डस्ट्रिज, सारस इन्भेस्टमेन्ट प्रालि, क्लाउड नाइन नेपाल, गंगासागर गु्रप अफ इन्स्टिच्युसन, कर्णाली बिल्डर्स र मिथिला आयल स्टोर्समा साहको लगानी भेटिएको छ।

यीमध्ये धु्रवताराको चितवनमा, केबी पेटको लगनखेल, ललितपुरमा शाखा कार्यालय छन्। बाँकी सबै धनुषा जिल्लाबाटै कारोबार गर्ने कम्पनी हुन्।

यी कम्पनीमा साहको लगानी २० करोड रुपियाँभन्दा माथि देखिन्छ। धु्रवताराले निर्माण सम्बन्धी कामको ठेक्कापट्टा लिन्छ। मिथिला आयल स्टोर्स नामक पेट्रोल पम्प उनले बुबा साधु साह सुढीका नाममा दर्ता गरेर चलाइरहेका छन्। यही फर्मका नामबाट साहले नेपाल प्रहरीको रासन ठेक्काको काम समेत गर्थे।

साहसँग आफू चढ्नका लागि विलासी गाडी एसयूभी (स्पोर्ट्स युटिलिटी भेहिकल) र टाटा एरिया प्राइड प्रयोग गर्थे। यसको मूल्य अहिले नेपाली बजारमा ६० लाख रुपियाँभन्दा बढी छ। उनीसँग महिन्द्राकै दुईवटा एक्जाभेटर समेत रहेका छन्, जसको मूल्य दुई करोड रुपियाँभन्दा माथि पर्छ। त्यसबाहेक उनको अर्को गाडी निसान पिकअपको बजार मूल्य करिब ६० लाख छ।

प्रहरीका अनुसार ठेक्कापट्टाबाट प्राप्त रकमबाट उनले आफ्नो आपराधिक जालो निर्माण गरे र हत्या, फिरौती, अपहरण जस्ता घटनाका समेत योजना बुन्न थाले। उनको आपराधिक सञ्जाल नेपालको सीमाभन्दा बाहिर सम्म फैलिएको देखिन्छ। र, सीमापार अपराधका धेरै घटनामा उनी मुछिएका छन्। 'अपराधको कमाइबाटै सबैतिर लगानी वृद्धि गर्दै गएको देखिन्छ,' तत्कालीन डीआईजी सिलवाल भन्छन्, 'अपराधबाट कमाएको पुँजी उनले मोजमस्तीमा उडाएनन्। लगानी गरेर आफ्नो सञ्जाल बढाए र लामो समय टिकिरहन सफल भए।'

साढे ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्जय साह विरुद्ध अवैध रुपमा सम्पति आर्जन गरेको अभियोगमा विशेष अदालतमा समेत मुद्दा दायर गरेको छ। ३१ करोड ५० लाख बराबरको रकम अवैध रुपमा कमाएको दावी गर्नै उनीविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगले २५ पुष २०७३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

व्यवस्थापिका संसदका सदस्य(सभासद) तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री संजय कुमार साहले सार्वजनिक पद धारण गरेदेखि सो पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरि गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसीयत अमिल्दो उच्च जीवनस्तर यापन गरेकोले निजको सम्पत्ति उपर छानबिन गरी पाउँ भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

उक्त उजुरीको सम्बन्धमा आयोगले अनुसन्धान गर्दा  दुई पटक संविधान सभा तथा व्यवस्थापिका संसदका सदस्य (सभासद) भएर , भौतिक योजना तथा निर्माण राज्यमन्त्री भएको बेला समेत साहले सार्वजनिक पद धारण गरे। सो अवधिमा निज तथा निजका परिवारका सदस्यहरुका नाममा रहेका कम्पनी तथा व्यावसायिक फर्महरुका कारोवार,ती कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारीहरुका नामबाट भएका आर्थिक कारोवार भएको देखिन्छ।

यसका साथै परिवारका सदस्य लगायतका नाममा खरिद एवं लगानी गरेको देखिएको छ। उनका सबे चल अचल सम्पत्ति प्रमाण छानविन एवं बिश्लेषण गरी हेर्दा निजले आय आर्जन गरेको वैध आयको तुलनामा ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको अभियोग सहित विशेष अदालतमा अख्तियारले मुद्दा दर्ता गरेको हो।

मनासिव कारण बिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको,आफ्नो हैसियत भन्दा बढी खर्च गरेको तथा स्रोत नखुलेको सम्पत्तिवाट बढी बढाउ गरेको समेत देखिन आएबाट साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि भएको छ। साहलाई बिगो ३१ करोड ५० लाख २६ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवाना तथा कैद सजायको आयोगले माग दावी गरेको छ।

साह संविधानसभाको सदस्य, नेपाल सरकारको राज्यमन्त्री र व्यवस्थापिका संसद सदस्यको हैसियतमा सार्वजनिक पदको राष्टूसेवक एवं पदाधिकारी समेत रही उपरोक्त बमोजिमको कसूर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय समेत हुन र निजले गैरकानूनी आर्जन गरेको रकमबाट जोडेको तथा बढे बढाएको चल अचल सम्पत्तिहरू भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा २९-ख बमोजिम जफत गर्न मागदाबी लिई  विशेष अदालत, काठमाडौंमा आरोपत्र दायर गरिएको छ।

उक्त मुद्दामा गत असोज महिनामा मात्रै विशेष अदालतमा संजय साहको बयान लिने कार्य सम्पन्न भएको छ। उक्त भ्रष्टाचारको मुद्दामा हालसम्म कुनै फैसला हुन नसकी विचाराधीन अवस्थामा रहेको छ।

सम्पति शुद्धिकरण विभागद्वारा संजयको सम्पति रोक्का
सम्पति शुद्धिकरण विभागले संजय साहका नाममा रहेका विभिन्न सम्पतिहरु रोक्का गरेको छ।

साहले आर्जन गरेको सम्पति निजका आफन्त तथा सहयोगीहरुको नाउँमा हस्तान्तरण गरेको भनी खुल्न आएकोले सो सम्बन्धी सुक्ष्म अनुसन्धान आवश्यक भएकोलगायका कारणसहित सम्पत्ति रोक्का गरेको हो। 

साहको बैंक खाताको विवरण विश्लेषण गर्दा निरन्तर नगद लेनदेनको कारोबार भएको अन्य व्यक्तिको सम्पतिको अनुसन्धान गर्नुपर्ने भएको, जिल्ला प्रहरी कार्यालय धनुषाबाट आफ्नो कार्यक्षेत्र भित्र बसोवास गर्ने निज साहको घर परिवारतर्फका सहयोगी र कामदारको नामनामेसी सहित विवरण प्राप्त भएको, केन्द्रिय अनुसन्धान व्यूरोबाट स्थलगत अध्ययन तथा अनुसन्धानका लागि खटिगएको अनुसन्धान टोली प्रतिवेदनमा उल्लेखित आधारहरुका कारण सम्पति रोक्का गर्नुपरेको विभागले बताउँदै आएको छ। 

सम्पति शुद्धिकरण अनुसन्धान विभागले हालसम्म अनुसन्धान मात्र गरिरहेको भएपनि मुद्दा भने विशेष अदालतमा दर्ता नभएको साहका कानुन व्यवसायी ओम प्रकाश सिंहले बताए।

व्यवस्थापिका संसदको छानबिन टोलीको प्रतिवेदन
सम्पति रोक्का गरिएको सन्दर्भमा तत्कालीन व्यवस्थापिका संसदको टोलीले समेत अनुसन्धान गरी प्रतिवेदन बुझाईसकेको छ।

२६ कार्तिक २०७१ मा साहको मुद्दा उनका नातेदार तथा गैरनातेदार समेतको व्यक्तिगत सम्पति गैरकानुनी रुपले रोक्का भएको थियाे। साहका सम्बन्धमा छानबिन गरी उचित निर्देशन गर्न तथा सो विषयमा अध्ययन तथा छानविन गरी प्रतिवेदन पेश गर्न सुशासन तथा अनुगमन समिति अन्तरगत तत्कालीन सांसद रामचन्द्र यादवको संयोजकत्वमा उपसमिति समेत गठन भएको थियो।

सांसदहरु अमन लाल मोदी, नरसिंह चौधरी, बहादुरसिंह लामा, मिलन कुमार राजवंशी र जिवराज बुढाथोकी समिति सचिव रहने गरी उपसमिति गठन गरिएको थियो।

२ मंसिर २०७१ मा उपसमितिको बैठकले सम्पति रोक्का गरिएको भनिएका व्यक्तिमध्ये उपस्थित ९ जनासँग छलफल गरी सम्पतिको विवरण, सो आर्जनको स्रोत, कर तिरेको विवरण र सांसद संजय साहसँग कुनै नाता सम्बन्ध रहे नरहेको खुल्नेगरी उपसमितिले तयार गरेको विवरण ढाँचामा भरी पठाउन निर्देशन गर्यो।

सम्पति शुद्धिकरण अनुसन्धान विभाग र सम्पति रोक्का आदेश दिने तथा सो को छानविन कार्यमा संलग्न रहेको केन्द्रिय अनुसन्धान व्यूरोका पदाधिकारीहरुलाई उपसमितिमा आमन्त्रण गरी छलफल गरी निष्कर्षमा पुग्नु भन्दा सम्भव भएसम्म सबै पक्षका कुरा सुनि सरोकारबाला निकायका पदाधिकारीहरुसँगको छलफलको लागि आधार तयार गर्नु आवश्यक भएको उल्लेख गरेको थियो।

पछि सरोकारबाला निकाय सम्पति शुद्धिकरण अनुसन्धान विभागले गैरकानुनी सम्पति भनि रोक्का आदेश दिने तथा सो को छानविन कार्यमा संलग्न रहेको केन्द्रिय अनुसन्धान व्यूरोका पदाधिकारीहरुलाई उपसमितिमा आमन्त्रण गरी छलफल गरिएको थियो। 

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उपसमितिमा पेश गरेको  लिखित विवरण
धनुषा लोहना गाविस ८ घर भई हाल जनकपुर २ कदम चौक बस्ने साधु साह सुडीको छोरा संजय कुमार साह विभिन्न आपराधिक तथा गैरकानुनी क्रियाकलापमा संलग्न रहि गैरकानुनी तवरले ठुलो परिमाणमा चल अचल सम्पति आर्जन गरी सम्पति शुद्धिकरण सम्बन्धि कसुर अपराध गरेको भन्ने विषयमा केन्द्रिय अनुसन्धान व्यूरोबाट यस विभागमा उजुरी प्राप्त हुन आएको छ। सम्पति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन २०६४ अनुसार अनुसन्धान अधिकृतको रुपमा काम गर्न केन्द्रिय अनुसन्धान व्यूरोलाई तोकिएको उल्लेख छ।

सम्पति रोक्का गर्नुपर्ने आधारहरु
-उजुरीका आधारमा संजय साहले आर्जन गरेको सम्पति निजका आफन्त तथा सहयोगीहरुको नाउँमा हस्तान्तरण गरेको भनि खुल्न आएकोले सो सम्बन्धी सुक्ष्म अनुसन्धान आवश्यक भएको

-निज साहको बैंक खाताको विवरण विश्लेषण गर्दा निज सँग निरन्तर नगद लेनदेनको कारोवार भएको अन्य व्यक्तिको सम्पतिको अनुसन्धान गर्नु पर्ने भएको

-जिल्ला प्रहरी कार्यालय धनुषाबाट साहको घर परिवार तर्फका सहयोगी र कामदारको नाम नामेसी सहितको विवरण प्राप्त भएको हुँदा निजहरुका नाममा रहेको सम्पतिको अनुसन्धान गर्नुपर्ने देखिएको

केन्द्रिय अनुसन्धान व्यूरोबाट स्थलगत अध्ययन तथा अनुसन्धानका लागि खटिगएको अनुसन्धान टोली प्रतिवेदनमा उल्लेखित आधारहरुका कारण सम्पति रोक्का गर्नुपरेको सम्पति शुद्धिकरण विभागले आधारहरु देखाएको छ।

त्यसैगरी अनुसन्धान कार्यमा प्रमाण लाग्न सक्ने प्रमाणहरु नष्ट हुन नदिन, कसुरबाट आर्जित सम्पति विक्री वितरण तथा हक हस्तान्तरण हुन नदिन, सम्पति लुकाउने स्थानान्तरण गर्ने अन्य सम्पतिमा मिसाउने आदि कार्य नगर्न, निर्दोष तेस्रो व्यक्तिको अधिकारको संरक्षण गर्न तथा सम्पति विक्री वितरण पश्चात धेरै चरण पार गरेपछि कसुर जन्य सम्पतिको स्रोत प्राप्त गर्न कठिन हुने हुनाले सम्पति रोक्का राख्नुपर्ने कारणहरुको रुपमा  विभागले औलियाएको छ।

अनुसन्धानका क्रममा गरिएका कार्यहरु
प्रारम्भिक अनुसन्धानबाट निज साह सहित गरी २८ जना व्यक्तिहरु सबैलाई अनुसन्धानको दायरामा ल्याई सबैको चल अचल सम्पति, बैंक खाता र अन्य विविध कारोवारको अनुसन्धान थालिएको छ। अनुसन्धानको क्रममा नेपाल राष्टू बैंक, बाणिज्य तथा आपुर्ति व्यवस्थापन विभाग,भुमि सुधार तथा व्यवस्था विभाग , यातायात व्यवस्था विभाग, सहकारी विभाग, विमा समिति, कम्पनि रजिष्टूारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, र नेपाल स्टक एक्सचेन्ज लिमिटेड समेतबाट सम्पति, बैंक खाता, कारोवार, घर जग्गा, सेयर विमा समेतको विवरण माग गरी त्यस्ता सम्पतिहरु समेत रोक्काको लागि पत्राचार भएको विभागले उक्त समितिलाई दिएको जवाफमा उल्लेख छ।

त्यसैगरी मालपोत कार्यालयहरु जनकपुर, सिरहा, सर्लाही, महोत्तरी, काठमाण्डौ, भक्तपुर र ललितपुर समेतलाई जग्गाको विवरणको लागि छुट्टा छुट्टै पत्राचार गरिएको उल्लेख छ। जिल्ला कारागार सिरहामा संजय साहको बयान लिनका लागि अनुसन्धान अधिकृत समेतको टोली २०७१ कार्तिक १७ गते देखि खटिगएकोमा निजले स्वास्थ्यको कारण देखाई तत्काल बयान दिन अस्विकार गरेकोले अनुसन्धान टोली फिर्ता भएकोले बयान लिन सकिएको छैन।

उपसमितिको निष्कर्ष सहितको सिफारिस

सांसद संजय साह र निजहरुसँग सम्बद्ध आरोपित व्यक्तिहरु मध्ये कसैको जग्गा नै नभएको र कसैको १० धुर मात्र जग्गा भएका व्यक्तिको जग्गासम्म पनि रोक्का भएको बुझिएको छ। यसबाट सम्बन्धित व्यक्तिको तथ्य, समस्या र अवस्थाबारे विभाग अनभिज्ञ भए जस्तो देखिन्छ।

यस प्रकार हचुवाको आधारमा भएको अनुसन्धान कार्यले बास्तविक र यथार्थ परिणाम ननिस्कने र सम्पति रोक्का गर्ने जस्ता कार्यले संविधान प्रदत सम्पति सम्बन्धि मौलिक हक अधिकारलाई प्रभावित पार्ने हुँदा रोक्का भएको सम्पति शुद्धिकरण निवारण ऐन २०६४ अनुसार सम्पतिको छानविनको दायरामा परेको अवस्था र रोक्का गर्ने मनासिव आधारलाई स्पष्ट खुलाएर मात्र सम्पति रोक्का गर्न गराउन र सांसद साह लगायत निजसँग सम्बद्ध अन्य व्यक्तिहरुको प्रथम दृष्टया प्रमाणबाटै गैरकानुनी नदेखिने सम्पति फुकुवा गर्न सम्पति शुद्धिकरण छानविन विभागलाई निर्देशन उक्त समितिले गरेको छ।

संजय साहको पैतृक सम्पति, कर बुझाएको सम्पति, ऋण तथा अन्य स्रोत आदिको समष्टिगत विश्लेषण पश्चात मात्र सम्पति शुद्धिकरणको दायरामा पर्ने नपर्ने मनासिव आधार एकिन हुने र निजका नातेदार सासु, त्यस्तै दिदी, बहिनी, भिनाजु, ज्वाँईले बैवाहिक सम्बन्ध स्थापित भईसकेपछि आर्जन गरेको सम्पतिको मात्र विश्लेषण गरी त्यसमा सांसद साहको संलग्नता रहे नरहेको स्पष्ट गर्नुपर्नेमा सो गरे नगरेको सम्बन्धित निकायले यस उपसमितिलाई स्पष्ट गर्न सकेको अवस्था छैन।

यसर्थ यी कुराको विश्लेषण गरी यूक्ति संगत ढंगले यथासिघ्र अनुसन्धान कार्य पुरा गर्न गराउन र कानुन सम्मत सम्पति फुकुवा गर्न सम्बद्ध निकायलाई निर्देशन गरिएको भनि उक्त उपसमितिले सिफारिस गरेको निर्णयहरुलाई ३ चैत्र २०७१ को सुशासन तथा अनुगमन समितिको २७औं बैठकले सर्वसम्मतिले पारित गरेको थियो।

साहमाथिको विभिन्न मुद्दा तथा सजाय
दुई पटक सभाषद तथा एक पटक भौतिक पुर्वाधार राज्य मन्त्री समेत भईसकेका संजय साह हातहतियार तथा खरखजाना मुद्दा र केही सार्वजनिक अपराध मुद्दामा २१ महिनाको कैद सजाय भुक्तान गरिसकेका छन्।

जिल्ला प्रशासन कार्यालय धनुषा, पुनरावेदन अदालत जनकपुर र सर्बोच्च अदालतबाट समेत उक्त मुद्दामा अन्तिम फैसला भई कसुरवार ठहर भएका साहले अन्य मुद्दाहरुमा थुनामा कारागारमा रहेका हुँदा उक्त कैद सजाय साहले भुक्तान गरिसकेका छन्।

३ जेठ २०६० मा धनुषाको सखुवा महेन्द्रनगरमा हातहतियार देखाई स्थानिय व्यक्तिहरुलाई लुटपाट गर्न खोजेको भन्दै राम जिवन प्रसाद गुप्ताले दिएको जाहेरी पछि संजय साहलाई जिल्ला प्रशासन कार्यालय धनुषाले सजाय र जरिवाना गरेको थियो।

गुप्ताको जाहेरीमा संजय कुमार साह, उमाशंकर अरगरिया, संतोष कुमार साह, शम्भु यादव, विनोद यादव, रामबाबु भनिने विन्देश्वर साह, राज कुमार पुर्वे, श्याम शर्मा, धर्मेन्द्र पाठक, अनिल भनिने निर्मल कुमार सिंह, ओम प्रकाश यादवलाई प्रतिवादी बनाई हातहतियार तथा खरखजाना र सार्वजनिक अपराधको मुद्दा चलाइएको थियो।

प्रहरी प्रतिवेदन अनुसार हातहतियार र खुकुरी समेत बोकी हो-हल्ला गरी हिँडको अवस्थामा खान तलासी गर्दा संजय कुमार साहको साथबाट खुकुरी थान १, कक भएको नाइन एमएम ११ राउण्ड लेखेको नम्बर १७४० लेखेको पेस्तोल थान १ गोली लोड भएको अवस्था बरामदी गरिएको तत्कालिन प्रहरी निरीक्षक मोहन कुमार शेर्पाको प्रतिवेदनमा उल्लेख छ।

सोही मुद्दामा धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी रेवती राज काफ्लेले ३० अषाढ २०६१ मा संजय साहलाई १ वर्ष ९ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। उक्त फैसलाका विरुद्ध पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गर्दा न्यायाधिशद्वय गिरीराज पौडयाल र भोला प्रसाद खरेलको संयुक्त इजलासले ३० जेठ २०६३ मा जिल्ला प्रशासन कार्यालय धनुषाको फैसलालाई सदर गर्दै सफाइ पाउनु पर्ने पुनरावेदकको निवेदन निरर्थक भएको फैसला गरेको थियो।

त्यसपछि सोही निर्णय विरुद्ध सर्वोच्च अदालतमा २०६८ सालमा फैसला बाझिएको थियो। सर्वोच्च अदालतका स्थायी न्यायाधिश अवधेष कुमार यादवले पुनरावेदन अदालतको फैसलालाई सदर गरेको थियो भने अस्थायी न्यायाधिश कमल नरायण साहले प्रतिवादी संजय साह निर्दोष रहेको भनी पुनरावेदन अदालतको निर्णय विपरित राय बझाएको थियो। पछि सर्बोच्चले पनि पुनरावेदन अदालतको फैसलालाई नै सदर गरेको थियो।

संचार उद्यमी अरुण सिंघानिया हत्याका पनि अभियूक्त
१७ फागुन २०६६ मा जनकपुरका व्यवसायी तथा संचार उद्यमी अरुण कुमार सिंघानियाको गोली हानी हत्या गरिएको थियो। फागुन पुर्णिमा होली कै दिन सिंघानियालाई जनकपुरको शिव चौकमा गोली हानी हत्या गरिएको थियो। उक्त हत्याको अभियोगमा अन्य विभिन्न अभियूक्तसँगसँगै संजय साहलाई पनि अभियूक्त बनाइएको छ। उक्त मुद्दामा पनि साहलाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ। उक्त मुद्दामा पनि हालसम्म फैसला हुन सकेको छैन।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०७५  ०९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ सोमबार, कात्तिक २, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने सोमबार, कात्तिक २, २०८३
ओमानसँग नेपाल भिड्दै, शीर्ष ६ मा पर्न जित आवश्यक सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्