काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकामा रहेका केही नेपालीहरुले नेपाल र नेपाली नेतृत्वलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरेको बताएका छन्।
पत्नी सिता दाहालको स्वास्थ्य उपचार गरी अमेरिकाबाट बिहीबार अपरान्ह स्वदेश फर्किएका अध्यक्ष प्रचण्डले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाललाई बदनाम गर्ने तथा नेपालका प्रधानमन्त्री, राष्ट्रपतिलगायतका उच्च नेतृत्वप्रति नकारात्मक दृष्टिकोणले हेर्ने केही नेपालीहरु रहेको टिप्पणी गरेका हुन्।
आफूमाथि पनि मेरिल्याण्ड अदालतमा उजुरी परेपनि त्यस्तो कुनै अप्रिय हर्कत नभएको र त्यहाँस्थित नेपाली दूतावासले त्यसो हुन नदिन व्यवस्थित योजना बनाएको पनि बताए।
अध्यक्ष दाहालले पत्नी दाहालको अमेरिकाको तीन वटा अस्पतालमा उपचार गरिएको र त्यहाँबाट दिएको औषधिले स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको पनि जानकारी दिए।
त्यसका अतिरिक्त अमेरिकास्थित पार्टीका नेता, कार्यकर्ता र त्यहाँस्थित नेपाली बुद्धिजीविहरुसँग पनि नेपालको समृद्धिका लागि आवश्यक छलफल गरिएको पनि बताएका थिए।
'बासिंटन र मेरिल्याण्ड राज्यका संसद र जनप्रतिनिधिहरुसँग भेट गरी द्धिपक्षीय हितका विषयमा कुरा भएको छ,' उनले भने।
अध्यक्ष दाहाल गत चैत्र ३ गते आईतबार पत्नी सिताको स्वास्थ्य उपचारका लागि अमेरिका गएका थिए।
दाहाल पत्नी सिता पार्किन्सन्स जस्तो एक प्रकारको जटिल रोगले पीडित छन्।
अध्यक्ष दाहालले अमेरिकास्थित जर्ज टाउन हष्पिटल, जोन हकिन्स अस्पतालमा सो रोगको उपचार गरिएको र उपचारपछि स्वास्थ्यमा सुधार आएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।