इलाम- इलामको देउमाइ नगरपालिकास्थित मंगलबारे बजारमा चैत २३ र २४ गते साहित्य तथा पर्यटन महोत्सव हुने भएको छ। ‘समाजका लागि युवा’ नामक संस्थाले पहिलो पटक गर्न लागेको महोत्सवमा साहित्य, कला, पर्यटन, संस्कृति, राजनीति, आदि विषयमा विमर्श हुनेछ।
कार्यक्रमको पहिलो दिन प्राडा अभि सुवेदीको प्रवचन, त्यसपछि कुन्ता शर्मा र सीमा आभासको ‘सार्वजनिक जीवनमा महिला सकस कति सुविधा’ विषयमा बहस, ‘थातथलो र परदेश’ विषयमा टेलिभिजनकर्मी टीकाराम यात्री र लेखक खगेन्द्र संग्रौलाबीच बहस हुनेछ।
त्यस्तै देउमाई क्षेत्रका देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाका प्रमुखसँग ‘देउमाई–२०९०’ विषयमा छलफल हुनेछ। दोस्रो दिन ‘युवा अवसर र नेतृत्व’ विषयमा नेकपा सांसद योगेश भट्टराई र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौड्यालसँग पत्रकार बसन्त बस्नेतले बहस गर्नेछन्। त्यसैदिन ‘कविता कला कि नारा? कवितामा स्थानीय भाषाको प्रभाव’ विषयमा कवि राज माङलाक, मुनाराज शेर्मा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिसँग पत्रकार समीरबाबु कट्टेलले बहस गर्नेछन्।
कार्यक्रममा राजनीतिक विश्लेषक प्रदीप गिरिले ‘२००७ सालपछिको नेपाल’ बारे एक घन्टा प्रवचन दिनेछन्। त्यस्तै, पत्रकार नारायण वाग्ले, अभिनेता दयाहाङ राई र वरिष्ठ मूर्तिकार राजु पिठाकोटेले संघर्षका कथा सुनाउनेछन्।
देउमाई किन घुम्ने भन्नेबारेमा प्रदेश सभासद् राम राना र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले बोल्नेछन्। कार्यक्रममा प्रदेशभरका र सिलिगुडीका समेत कविहरूले कविता सुनाउने कार्यक्रम छ।
महोत्सवमा नेपाल पर्यटन बोर्ड प्रवर्द्धकको रुपमा, नेपाल प्रज्ञा प्रतिष्ठान र देउमाई नगरपालिका सहयोगी संस्थाको रुपमा रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।