काठमाडौं- सर्वोच्च अदालतले विप्लव माओवादीका नेता हेमन्तप्रकाश ओलीलाई तीन दिनभित्र अदालतमा पेश गर्न आदेश जारी गरेको छ।
केही दिनदेखि प्रहरी नियन्त्रणमा रहेका नेकपा विप्लव समूहका नेता ओली ‘सुदर्शन’लाई हाजिर गराउन प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको इजलासले आदेश गरेको हो।
ओलीलाई प्रहरीले पक्राउ परेपछि छोरी विपना ओलीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
रिटमा प्रारम्भिक सुुनुवाई गर्दै प्रधानन्यायाधीश जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित ३ दिनभित्र अदालतमा उपस्थित गराउन भनेको हो।
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज ओली ‘सुदर्शन’ र लोकेन्द्र खड्कालाई गैरन्यायिक तरिकाले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो।
रिटमा नेपाल सरकार, गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा, गृहमन्त्रालय सिंहदरबार प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी प्रभाग ललितपुर, जिल्ला प्रहरी कार्यालय, काभ्रे, ललितपुर जिल्ला अदालतलगायतलाई विपक्षी बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।