काठमाडौं- सरकारले बेपत्ता नागरिक छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न सरकारले सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा समिति गठन गरेको छ।
मन्त्रिपरिषदको बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति गठन गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।
बिहीबार मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले सिफारिस समितिमा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता रामनाथ मैनाली र शर्मिला कार्की रहेको बताए । खड्का कांग्रेस निकट हुन भने मैनाली माओबादी र कार्की पुर्व एमाले निकट हुन्।
समितिमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा उनले तोकेका एक जना सदस्य पनि समितिको सदस्यका रुपमा रहने मन्त्री बास्कोटाले जानकारी दिए। सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगका पदाधिकारीहरुको कार्यकाल चैत मसान्तमा सकिँदैछ। अध्यक्ष सुर्यकिरण गुरुङले यसअघि नै पदवाट राजिनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।