काठमाडौं- प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लुटपाटमा संलग्न नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई समर्थन गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको चर्को आलोचना गरेका छन्।
प्रधानमन्त्री ओलीले हुँदै नभएको चन्द नेतृत्वको लुटेरा समूहलाई पार्टीको नामाकरण गरेर काँग्रेस आफैं समस्यामा परेको दाबी पनि गरे।
कहीँ-कतै दर्ता नभएको चन्द नेतृत्वको नेकपालाई काँग्रेसले समर्थन गर्नु दुःखद् भएको प्रधानमन्त्री ओलीको भनाइ छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ३ ले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काँग्रेस हेर्दाहेदै ओरालो लागेर कहाँ पुग्यो भनी टिप्पणी गरेका थिए।
'अपराधिक गिरोहको रुपमा गतिविधि गरिरहेको चन्द नेतृत्वको समूहलाई प्रतिवन्ध लगाइएको उल्लेख गर्दै सरकारले समाजमा हुने कुनै पनि अपराधिक गतिविधिलाई नियन्त्रण गर्नेछ,' प्रधानमन्त्री ओलीले भने, 'गृहमन्त्रीले चन्द नेतृत्वको नेकपालाई नियन्त्रण गरेकोमा विरोध गर्ने काँग्रेस बैचारिक रुपमा समेत स्खलित भएको छ।'
प्रधानमन्त्री ओलीले पार्टी भित्रको सांगठनिक एकीकरणको काम केही दिन भित्रै टुंग्याउने पनि बताएका थिए।
पार्टीभित्रको असन्तुष्टि सार्वजनिक ठाउँमा प्रचार गर्दै हिड्ने अनुशासनहीन काम नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।
देशीविदेशी प्रतिक्रियावादीहरुले पार्टीलाई एकतावद्ध हुन नदिने कोसिस गरिरहेको उल्लेख गर्दै सचेत रहनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले सरकारले मुलुकको समृद्धिका लागि वैदेशिक लगानी र प्रविधि दुवै भित्र्याउन चाहेको पनि स्पष्ट पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।