काठमाडौं- जनताको जलविद्युत कार्यक्रमअन्तर्गत त्रिशुली थ्री बीको सेयर बाँडफाँट गरिएको छ। सो आयोजनामा लगानीका लागि आवेदन गरेका प्रधानमन्त्री ओली दम्पतिसहित सबैलाई २०-२० कित्ता सेयर पेरेकाे छ।
एक हप्ताअघि प्रधानमन्त्री ओली र उनकी पत्नि राधिका शाक्यले सो जलविद्युत आयोजनाका लागि १० हजार कित्ता सेयरका लागि आवेदन दिएका थिए।
यसैगरी, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई पनि २० कित्ता, पूर्व सभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता सेयर परेको छ। प्रधानमन्त्रीसहित आफूहरुलाई पनि सर्वसाधारणले पाए जत्ति नै २० कित्ता सेयर भागमा परेको मन्त्री पुनले जानकारी दिए।
'आवेदन दिएका ३० लाख ९१ हजार १ सय ८० कित्ता बाँडफाँड गर्दा प्रधानमन्त्रीसहित सबैलाई २० कित्ता भागमा परेको छ,' आयोजनाको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले भने।
बाँडफाँट कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पुनले सो सेयर बाँडफाँडबाट जलविद्युत क्षेत्रमा जनताको लगानीको सम्भावना उत्साहप्रद रहेको उल्लेख गर्दै सो आयोजनाको काम समयमै सम्पन्न गर्न पनि त्रिशुली जलविद्युत कम्पनी लिमिटेडलाई सचेत गराए। जनताको जलविद्युत कार्यक्रम अन्तरगत अघि बढाइएको १९ वटै जलविद्युत आयोजनाको काम पारदर्शी ढंगले समयमै सम्पन्न गर्ने प्रतिवद्धता उनले व्यक्त गरे।
‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मूल नाराका साथ घोषणा गरिएको जनताको जलविद्युत कार्यक्रमबाट जलविद्युतमा करिव ७ खरव रुपैयाँ स्वदेशी लगानी जुटाउने सरकारको लक्ष्य छ। त्यसका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले हाललाई ३ हजार ४ सय ७९ मेघावाट क्षमताका १९ वटा जलविद्युत आयोजना छनौट गरेको छ। मन्त्रालयले सो कार्यक्रमका लागि यस अघि नै कार्यविधि बनाई सकेको छ।
३ करोड ७० लाख ५० हजार रुपैया बराबरका ३७ लाख ५ हजार कित्ता शेयर बाँडफाँटका लागि धितोपत्र बोर्डले स्वीकृति दिएको थियो।
उक्त आयोजनाको सेयर चैत ७ देखि चैत ११ गतेसम्म बिक्री खुला गरिएको थियो।
१ लाख ५४ हजार ५ सय ५९ जना लगानीकर्ताले २० कित्ताका दरले ३० लाख ९१ हजार १ सय ८० कित्त्ता वितरण भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।