काठमाडौं– सावित्री श्रेष्ठले १९ वर्षअघि हत्या गरिएका आफ्ना भाइको हत्यारा पक्राउ परेको हल्ला बिहान सुनिन् । त्यस लगत्तै उनले यसको सत्यताबारे जिज्ञासा राख्दै फोनमा भनेकी थिइन्, ‘अपुष्ट हल्ला सुनेँ, के हामीले न्याय पाउन लागेकै हो त?’
सावित्रीले साढे ११ बजेतिर माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउबारे पुष्टि खोज्दै सोधेको आधा धन्टा नबित्दै पक्राउको खबर सञ्चारमाध्यममा फैलिसकेको थियो।
०५५ असार १० मा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याको आरोप लागेका ढुंगेल निश्फिक्री सार्वजनिक कार्यक्रममा देखिइरहँदा पनि प्रहरीले पक्राउ गरिरहेको थिएन।
सर्वोच्च अदालतले तीन पटकसम्म फैसला गर्दा समेत राजनीतिक पहुँचको आडमा फरार हुँदै आएको व्यक्ति एक्कासी पक्राउ परेको सुनेर सावित्रीले पत्याउन सकेकी थिइनन् । तर, प्रहरीले ढुंगेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगेपछि भने उनी बल्ल पक्का भइन्।
त्यस लगत्तै उनले उक्त खबर ७० काटेका आमा–बुवालाई सुनाइन् । उनीहरुको आँखा रसिलो पारे । तर, एक शब्द निकाल्न सकेनन्।
यी पनि पढ्नुहोस्-
आइजिपीलाई अवहेलना मुद्दापछि बालकृष्ण ढुंगेल पक्राउ
पक्राउ परेका माओवादी नेता ढुंगेल सदरखोर डिल्लीबजारमा
ढुंगेल अब १२ वर्ष जेल बस्नुपर्ने, माओवादी सरकारमा आए छुट्लान्?
द्वन्द्वकालमा दुई छोरा गुमाएका रामेश्वर र रामकुमारी श्रेष्ठ दम्पतीको अन्तिम इच्छा हत्यारा जेल गएको हेर्ने थियो।
‘वर्षौंदेखि हाम्रो इच्छा आज पूरा भएको छ, हामीले न्याय पाएका छौं’, दिदी सावित्रीले भनिन्।
ओखलढुंगामा आफ्नो व्यवसाय गरेर बसेका श्रेष्ठ परिवारले कान्छो छोरो उज्जनलाई गुमाएको चार वर्षपछि जेठो छोरा गणेशलाई पनि गुमाएका थिए । ०५५ मा उज्जनको हत्या भएको थियो भने ०६९ मंसिर ६ मा गणेशलाई पनि गुमाउनुपरेको थियो।
उनीहरुले द्वन्द्वकालमा राजनीतिमा कतै नजोडिएका आफ्ना छोरा र नातिनी त गुमाए नै, माओवादीबाट सधैंजसो धाक–धम्की पनि सहँदै आएका थिए।
‘जिल्ला अदालतमा मुद्दा हालेदेखि मैले कुनै पनि दिन चैनका साथ हिँड्न पाइनँ’, सावित्रीले भनिन्, ‘कहिले फोनबाट त कहिले मान्छे पठाएर र कहिले पछि लागेर धम्की खेप्दै न्यायका लागि लडेकी थिएँ।’
सुराकी गरेको आरोप लगाउँदै तत्कालीन विद्रोही माओवादीका कार्यकर्ता पुष्कर गौतम, बालकृष्ण लगायतले उज्जनलाई गोली हानी हत्या गरेका थिए । उज्जनलाई माओवादीबारे सुरक्षाकर्मीलाई सूचना दिएको भनी मारिएको थियो । उनको हत्याको विषयमा प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको भनी उज्जनका दाजु गणेशको पनि हत्या गरियो।
आफ्ना आँखाअगाडि दुई छोरा गुमाएका श्रेष्ठ दम्पतीले १९ वर्षदेखि न्यायको लडाइँ लडिरहेका थिए।
द्वन्द्वकै कारण श्रेष्ठ परिवारले १० वर्षकी नातिनी समेत गुमाएको थियो । बाबु (गणेश) को नृशंस हत्याको प्रत्यक्षदर्शी बनेकी नातिनी मानसिक रोगी भएकी थिइन् । त्यसको केही वर्षमा उनले आत्महत्या गरेकी थिइन् । गणेशलाई माओवादी कार्यकर्ताले दिउँसो खेतमा उनकै अगाडि गोली हानी मारेका थिए।
‘छोराहरुलाई मारे, ९० वर्ष काटेको म बूढालाई पनि सधैं मानसिक सन्त्रास दिए’, रामेश्वर श्रेष्ठले भने, ‘सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन गरिपाऊँ भन्दा पनि घरमै आएर धम्की सहेर लडेका थियौं।’
उनीहरुको मुद्दामा सर्वोच्च अदालतले तीन पटक अन्तिम फैसला सुनाइसकेको थियो । तीनै पटक ढुंगेललाई सर्वस्वसहित जन्मकैदको निर्णय सदर भई फैसला कार्यान्वयन गर्न भनेको थियो । तर, उनी द्वन्द्वकालको घटना भन्दै फरार हुँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।