डोटी- जिल्ला प्रहरी कार्यालय अछामले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ।
प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार जिल्लाको रामारोशन गाउँपालिकाको झाता गाउँमा गस्तीमा गएको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहका कार्यकर्ताले गोली चलाएपछि उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भुमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामी रहेका छन्।
रामारोशन गाउँपालिकाको झाता गाउँमा ‘विप्लव’ समूहका कार्यकर्ता रहेको थाहा पाएपछि प्रहरी टोली मङ्गलबार त्यहाँ पुगेको थियो। झाता गाउँमा पुगेको प्रहरी टोलीमाथि सो समूहका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायर खोलेको प्रहरी नायब उपरीक्षक शाहीले बताए। 'नौ जनाको समूहमा रहेका ‘विप्लव’ समूहले प्रहरी टोलीमाथि पहिला गोली चलाएकाले हामीले जवाफी फायर खोलेपछि पाँच जना भागेका र चारलाई पक्राउ गरी ल्याएका छौँ,' उनले भने।
‘विप्लव’ समूहका डोटी इन्चार्ज शेरबहादुर देउवाले अछाममा हाम्रो टोलीले फायरिङ नगरेको र प्रहरीले एकाएक फायर गरी आफ्नो समूहका केही व्यक्तिलाई पक्राउ गरेको दाबी गरे।
जिल्ला प्रहरी कार्यालय अछामले प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो भिडन्त भएको र आफ्नो तर्फबाट सात राउन्ड फायर भएको बताएको छ। त्यस्तै प्रहरीले गोली चलाउँदा भाग्ने क्रममा अछामका इन्चार्ज शेरबहादुर विक ‘दर्शन’ को खुट्टामा चोट लागेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।