राजविराज–
घटना-१
चैत्र ८, सप्तरीको कञ्चनरुप नगरपालिका-२, बैरवाका ५५ वर्षिया असानुल शेख र ३७ वर्षिया खैरुल खातुन जंगली हात्तीको आक्रमणमा परि घाइते भए। शेखको दाँया हात र देव्रे तिघ्रा भाँचियाे भने खातुनको छातीमा चोट लाग्याे। कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केका हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा घाइते भएका २ मध्ये शेखको अहिले पनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
तर, आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा समस्या भइरहेको स्थानीय मोइम शेखले बताए। ‘अहिलेसम्मको उपचार चन्दा संकलन गरेर गर्यौ’, उनले भने, ‘थप सहयोग पाउने अवस्था नभएकाले अबको खर्च कसरी जोहो गर्ने भन्ने अन्याेलता छ।’
घटना-२
माघ ४, कञ्चनरुप नगरपालिका-११ का नन्दकिशोर मण्डलकी ५३ वर्षीया पत्नी कौशल्यादेवीको पनि हात्तीको आक्रमणबाट मृत्यु भयो। जेनतेन उनको क्रियाकर्म सकियो। तर, अहिलेसम्म पनि पीडित परिवारले क्षतिपूर्ति पाएका छैनन्।
घटना-३
मंसीर ३, कञ्चनरुप नगरपालिका-९ का केदार साह हात्तीकाे आक्रमणमा परी गम्भीर घाइते हुन पुगे। साहको फागुन १७ गते उपचारकै क्रममा मृत्यु भयो। ४ महिनासम्म अनेकन प्रयास गर्दा पनि उनलाई बचाउन नसकिएको पत्नी अनिताले बताइन्।
'पहिला ६ लाखमा २ कठ्ठा धान खेत बेचेर उपचार गर्यौं, त्यसपछि घडेरी पनि बैंकमा राखेर ५ लाख ऋण निकालेका छौं’, उनले भनिन्, ‘करिब १६ लाख रुपैयाँभन्दा बढी सकियो, तर मान्छे बचाउन सकिएन।’ सरकारी स्तरबाट पाउने भनेको १० लाख रुपैयाँ क्षतिपूर्ति समेत नपाउँदा परिवार नै ऋणमा डुबेको उनको गुनासाे छ।
घटना-४
भदौ २८, महदेवा गाउँपालिका-४ का श्यामसुन्दर खंगकी छोरी सन्जुकुमारी खंग र रामउद्गार खंगकी छोरी सन्जिला कुमारी खंगलाई हात्तीले आक्रमण गर्याे। घाइते अवस्थामा उद्धार गरिएका दुबैलाई परिवारले दुःख गरेर उपचार गर्याे। तर, उनीहरुले न उपचार खर्च पाए, नत क्षतिपूर्ति वा राहत नै।
यति मात्रै होइन, कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका हात्ती, अर्ना, बँदेललगायतका जंगली जनावरको आक्रमणबाट घाइते तथा ज्यान गुमाउनेको संख्या यस क्षेत्रमा धेरै छ।
यसअघि, गत वर्ष फागुन १ गते कन्चनरुप नगरपालिका-५, पथरी टोलका नारायण साहकी पत्नी ३५ वर्षीया मन्जुदेवी र टिर्हा मुखियाकी पत्नी ४५ वर्षीया पत्नी दुर्गीदेवीको पनि ज्यान गएको थियो।
विभिन्न समयमा जंगली जनावरको आक्रमणबाटै कन्चनरुप नगरपालिका–१०, बदगामाकी ७० वर्षीया फुलवादेवी यादव, हनुमाननगरका सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कन्चनरुप नगरपालिका–१० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी संगीता यादवको मृत्यु भएको थियाे।
एकातर्फ उपचारका क्रममा हुने खर्च धान्न पीडित परिवारलाई अप्ठेराे छ भने सरकारले पनि पीडित परिवारलाई दिने भनिएकाे क्षतिपूर्ति रकम नदिँदा उनीहरुलाई थप सास्ती बेहाेर्नु परिरहेकाे छ। यसबीचमा पनि घरमा भएका अन्नपात, लत्ताकपडा र भाँडाकुडासमेत भन्न नपाई त्रासदिपूर्ण अवस्थामा दिन गुजार्न बाध्य छन् आरक्ष आसपासका स्थानीयहरु।
त्यसमाथि पीडित परिवारलाई राहत दिने र जंगली जनावर नियन्त्रण गर्ने विषयमा हालसम्म पनि सम्बन्धित निकायले गम्भिरता देखाएको छैन।
राहत रकम पाउने प्रक्रिया अति नै झन्झटिलो र असहज भएका कारण अधिकांश पीडितले उजुरी नै गर्न छोडेको मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादव बताउँछन्।
डिभिजन वन कार्यालय राजविराजका प्रमुख धिरेन्द्र प्रसाद सिंहले पनि राहत रकम पाउने प्रक्रिया लामो र झनझटिलो भएको स्विकार गरे। ‘पीडित पक्षले सबै प्रकृया पुरा गरिसकेपछि पनि डब्लुडब्लुएफले अर्थ मन्त्रालय, अर्थले वन मन्त्रालय र वनले कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय, सुनसरीलाई राहत रकम पठाएपछि डिभिजन वन कार्यालयमार्फत रकम वितरण हुने हो’, सिंहले भने, ‘यति लामो प्रक्रिया पुरा गर्दागर्दै पीडित पक्ष आजित हुन्छन्।’
‘पीडितले लाखौं रकम खर्च गरेर घाइतेको उपचार गराउँछन्, कतिपयले ज्यानै गुमाउँछन्’, सिंह भन्छन्, ‘तर, राज्यले राहत रकम समेत समयमा उपलब्ध नगराउँदा जनताको आक्रोश बढ्दो छ।’
सरकारले जंगली जनावर नियन्त्रणका लागि दिर्घकालिन उपाय खोज्नु पर्ने र पीडितलाई सहजरुपमा राहत रकम वितरणको व्यवस्था मिलाउनुपर्ने उनको धारणा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।