काठमाडौं– आगामी वर्ष दक्षिण अफ्रिकामा हुने आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुँदै नाइजेरियाले इतिहास बनाएको छ। नाइजेरियाले अफ्रिका छनोटमा खेलेका पाँच खेल जितेर युवा विश्वकपमा पहिलो पटक स्थान पक्का गरेको हो।
नाइजेरियाले समूहमा नामिबिया, युगान्डा, सेयरा लियोन, केन्या र तान्जानियालाई हरायो। अन्तिम खेलमा नाइजेरियाले सेयरा लियोनलाई २ विकेटले पराजित गरेको थियो। अंक तालिकामा ४ खेल जितेको नामिबिया भने विश्वकपमा छनोट हुन असफल भयो।
१६ टिमको सहभागिता रहने विश्वकपमा आयरल्यान्ड बाहेकका ११ पूर्ण सदस्य छनोट भइसकेका छन्। नाइजेरिया छनोट भएसँगै अब एसिया, अमेरिका, इपिए र युरोप छनोटबाट १–१ टिम छनोट हुनेछन्।
नेपालले यहि महिना मलेसियामा हुने छनोटमा भाग लिँदैछ। विश्वकप छनोटको तयारी गर्न नेपाली टिम अहिले भारतको आन्द्रा प्रदेशमा छ। आन्द्रामा तयारीपछि नेपाल मलेसिया प्रस्थान गर्नेछ। जहाँ नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएईले भाग लिँदैछन्। शीर्ष एक टिम युवा विश्वकपमा छनोट हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।