काठमाडौं– सरकारलाई अहिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता गलपासो बन्दै गएको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद परिषद्को समन्वयमा आठौं राष्ट्रिय खेलकूद प्रदेश पाँचको नेपालगञ्जमा आयोजना गर्ने तयारी भइरहेको छ।
मंसिरमा गर्नु पर्ने प्रतियोगिता पुस, माघ, फागुन हुँदै चैतसम्म सर्दै आइरहेको छ। चैतको दोस्रो सातामै गर्ने गरि तयारी गरिए पनि खेलाडीहरु एसइई परीक्षामा सहभागी हुनुपर्ने र नेपालगञ्ज रंगशालाको भीआइपी प्यारापिटको छतको सामान नआउँदा समयमै निर्माण नसकिदा हुन सकेन।
सोमबार मात्रै सबै सामान नेपालगञ्ज आइपुगेकाले अबको १२ दिन भित्र सबै काम सकिने जनाइएको छ। अहिले युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र राखेपका सदस्य सचिव केशव कुमार विष्ट नेपालगञ्जमा रहेका छन्। सोमबार विभिन्न पूर्वाधारको अबलोकन पनि सँगै गरेका थिए। पूर्वाधारको अवलोकन पछि मन्त्री विश्वकर्माले वैशाखको दोस्रो साता प्रतियोगिता आयोजना गर्नु पर्ने धारणा राखेपछि अहिले नेपालगञ्ज तरंगीत भएको छ।
राखेपका सदस्य सचिव विष्टले यसअघि २०७३ सालमा सातौं खेलकूद भएको र २०७५ भित्रै आठौं खेलकुद हुने हुँदा व्यवहारिकरुपले २–२ वर्षमा आयोजना हुने भनिएको मिति पनि पर नजाने तर्क गर्दै आएका छन्। तर मन्त्री विश्वकर्माको भनाईले राखेपलाई अहिले अप्ठेरो परेको छ।
आठौं राष्ट्रिय खेलकूदका लागि राखेपले खेलाडीलाई प्रदान गर्ने ट्रयाक सुट, लेटर प्याड लगाएत विविध प्राविधिक कुराहरुमा ‘आठौं राष्ट्रिय खेलकूद २०७५’ लेखिएको छ । यदि वैशाखमा प्रतियोगिता उद्घाटन गर्नु पर्ने अवस्था आए यी सबै कुराहरु काम नलाग्ने निश्चित प्राय छ। २०७५ सालमै गर्ने गरि तयारी गर्दा अहिलेसम्म झण्डै ९० लाख रुपैयाँ खर्च भइसकेको छ। फेरि नयाँ तरिकाले तायरी गर्दा थप त्यति रकम लाग्ने र टेण्डर लगाएतका कुराले प्रतियोगिता नै आयोजना गर्न नसकिने अवस्थामा पुग्ने खतरा पनि बढेको छ।
त्यस्तै वैशाखमा प्रतियोगिता आयोजना गर्दा खेलाडी माथि पनि खेलवाड हुने यस क्षेत्रका जानकारहरु बताउँछन्। आठौंमा खेल्ने अधिकांस खेलाडीहरु कक्षा ११ र १२ को परीक्षाको तयारीमा पनि छन् । कक्षा बाह्रको परीक्षा वैशाख १० गतेदेखि सरु हुँदै छ। यसैगरी बैशाखको दोस्रो साता प्रतियोगिता आयोजना गर्दा खेलाडीले परीक्षा र आठौं रोज्नुपर्ने बाध्यता पनि आउन सक्छ।
राखेप स्रोतका अनुसार आफूहरुले यसअघि विद्यार्थीको एसइई परीक्षा र कक्षा बाह्रको परीक्षाका कारण प्रतियोगिता चैतको अन्तिम साता शुरु गरेको बैशाखको ५–७ गतेभित्र सक्ने गरि आयोजना गर्नु पर्नेमा जोड दिइएको हो। चैतको ३० गतेभित्र प्रतियोगिता उद्घाटन गर्दा प्राविधिक कुनै पनि कुराको समस्या नपर्ने भएकाले बैशाखमा जान नहुने राखेपको तर्क छ।
यसअघि सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोह यही चैत २७ गते हुने बताएका थिए। सचिव विष्टले खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा उद्घाटन भई २०७६ साल वैशाख ३ गते समापन हुने जानकारी दिएका थिए। विष्टले गत आइतबार नेपालगञ्जमा आयोजित समन्वय बैठकलाई सम्बोधन गर्दै सदस्य सचिव यही चैत १५ गते बस्ने बोर्ड बैठकले यसबारे टुङ्गो लगाउने बताएका थिए।
मध्यपश्चिम खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीका अनुसार प्रतियोगिताका लागि पुनःनिर्माण गरिएको नेपालगञ्ज रङ्गशाला मैदान, सोही स्थानमा ६ हजार ५०० क्षमताको दर्शक प्यारापिट, नेपालगञ्जमै सुटिङ रेञ्ज, भारत्तोलन एकेडेमी भवन, कोहलपुरस्थित क्रिकेट मैदान, दाङको लमहीमा क्रिकेट मैदान, घोराहीमा बास्केटबल कोर्ट, बाँकेको खजुरामा भलिबल स्टेडियम, बर्दियाको भुरीगाउँमा खोखो खेलको कभर्डहल, रूपन्देहीमा लङटेनिस कोर्ट र कपिलवस्तुमा कुस्तीका लागि मायादेवी खेल मैदान निर्माण सम्पन्न भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।