जयपुर– इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा किंग्स ११ पन्जावले राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४ रन जोड्यो। जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७० रन मात्र जोड्यो।
पञ्जावका लागि क्रिस गेलले ४७ बलमा ८ चौका र ४ छक्का हिर्काउदै ७९ रन जोडे। मयंक अग्रवालले २२ रन जोडे भने सर्फराज खानले २९ बलमा ६ चौका र १ छक्काको मद्दतमा ४६ रन बटुले।
राजस्थानका लागि जोस बटलरले ६९ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। रविचन्द्रन आस्विनबाट रनआउटको सिकार हुनुअघि उनले ४३ बलमा १० चौका र २ छक्का प्रहार गरेका थिए। अर्का ओपनर अजिन्का राहाणेले २७ रन जोड्दा सन्जु सामसनले ३० रनको योगदान दिए। स्टेभिन स्मिथले २० रन जोडे भने अन्य ब्याट्स्यमान सस्तैमा आउट भए। बलिङमा पञ्जावका समान कुरान, मुजिब उर रहमान र अंकित राजपुतले २–२ विकेट लिए।
आइपिएलमा आज राति चेन्नइ सुपरकिंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ। दुवै टिमले पहिलो खेलमा जित निकालेका थिए। चेन्नइले बैंग्लोरलाई पराजित गर्दा दिल्लीले मुम्बइमाथि जित हात पारेको थियो। दिल्लीले नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई पहिलो रोजाइमा उतारेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।