काठमाडौं- पत्रकार रमण घिमिरेको पुस्तक ‘आँखीझ्याल’ सोमबार सार्वजनिक भएको छ। कला, संगीत र साहित्य विधाका १३ जना सर्जकका जीवनी सन्दर्भ समेटिएको आँखिझ्याल मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको हो।
पुस्तकमा अम्बर गुरुङ, ईश्वरवल्लव, कमलमणि दीक्षित, क्षेत्रप्रताप अधिकारी, जगदीश घिमिरे, डायमनशमशेर राणा, पेमाला गुरुवाचार्यका सन्दर्भ उल्लेख छन्। पुस्तकमा फत्तेमान, भीम विराग, भीमबहादुर थापा, माणिकरत्न, रामशरण दर्नाल तथा राममान तृषितका सन्दर्भ पनि समावेश छन्।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै नाटककार अशेष मल्लले ‘आँखीझ्याल’ कलात्मक लेखनको उत्तम नमूना भएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै लेखक रमण घिमिरेले राष्ट्रले सम्मान गरेका पुराना सर्जकबारे बुझ्न सजिलो होस् भनेर आफूले पुस्तक तयार पारेको उल्लेख गरे। ‘पुस्तकमा समेटिएका व्यक्तित्वसँग अनेकौं पटक भेट्ने अवसर पाएँ। उनीहरूका जीवन भोगाइका रहस्योद्घाटन हुँदा मनमा तरंग पैदा भयो,' उनले भने, ‘ती तरंगले मन छोए। लेख्न घचघच्याए।’
सर्जकहरुका अनौठा आनीबानीलगायतका विषय समेटिएको पुस्तकको बजार मूल्य २३५ रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।