काठमाडौं– आइसिसी यु–१९ विश्वकप एसिया छनोटको तयारीका लागि भारतमा रहेको नेपाली यु–१९ टिमले लगातार दोस्रो अभ्यास खेलमा जित हात पारेको छ। नेपाली युवा टिमले सोमबार भएको खेलमा आन्द्रा यु–१९ टिममाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो।
आन्द्राले दिएको २ सय २८ रनको लक्ष्य नेपालले ४७.३ ओभरमा ९ विकेटको क्षतिमा पार गर्यो। त्यसअघि आन्द्रा ५ बल खेल्न बाँकी छदा २ सय २७ रनमा अलआउट भएको थियो।
नेपालको जितमा कप्तान रोहित कुमार पौडेलले ७१ रन जोडे। उनले ६५ बलमा ६ चौका र २ छक्का हिर्काए। भीम सार्की ४९ रनमा आउट भए। उनले ८२ बलमा ३ चौका हिर्काए। त्यसअघि ओपनिङमा आएका रित गौतम शून्यमा आउट भए। अर्का ओपनर पवन सर्राफले ३० रन जोडे भने आसिफ शेखले १२ रनको योदान दिए। कुशल मल्ल १३ रनमा आउट हुँदा कमल सिंह ऐरीले ९ बलमा नटआउट ८ रनमा जोडे।
बलिङमा आन्द्राका एसएमडी कमिलले ५ विकेट लिए।
पहिले ब्याटिङ गरर्को आन्द्राका लागि ओपनिङ ब्याट्सम्यान नितेश कुमारले ५१ रन जोडे। सागर ढकालको बलमा आउट हुनुअघि उनले ६ चौका र १ छक्का हिर्काए। यस्तै योगानन्दले ५९ रन र सुब्रमन्यमले ४५ रनको योगदान दिए।
बलिङमा नेपालका कमलसिंह ऐरीले ४ विकेट लिए भने पवन सर्राफले ३ विकेट हात पारे। प्रतिश जिसी, रासिद खान र सागर ढकालले १-१ विकेट आ–आफ्नो नाममा लेखाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।