जनकपुर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खेलमै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान् खेलाडीहरुको स्थायी जीविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताएका छन्।
जनकपुरधाममा आजबाट सुरु भएको तेस्रो सहिद कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले विश्वमै मुलुक र प्रदेशलाई चिनाउने खेलाडीहरुको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए। विश्वको अन्य मुलुकमा खेलाडीहरुलाई विभिन्न निकायमा जागिर दिने गरिए जस्तै प्रदेश २ को सरकारले समेत प्रादेशिक संरचनाभित्र क्षमतावान् खेलाडीहरुलाई समावेश गर्ने नीति लिएको उल्लेख गरे।
मुख्यमन्त्री राउतले खेल क्षेत्रलाई उत्कृष्ट बनाउन प्रदेश सरकारले प्रत्येक जिल्लामा प्रदेश स्तरीय र प्रदेशभित्र कम्तीमा ३-४ वटा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने सोच समेत बनाएको जानकारी गराए।
१९ गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाडौं तथा भारतबाट पटना, दरभंगा र कानपुर गरी जम्मा ८ वटा टिम सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।