चितवन- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेत्र विक्रम चन्द 'विप्लव' समूहमाथिकाे प्रतिबन्धकाे निर्णय आफूले पत्रिकामा हेरेर थाहा पाएकाे गुनासाे गरेका छन्।
चितवनकाे भरतपुरमा आज पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेता नेपालले सरकार र पार्टी सञ्चालन गर्दा कुनै पनि किसिमकाे सरसल्लाह हुननसकेकाे भन्दै असन्तुष्टि व्यक्त गरे।
'म पनि पार्टीको शिर्ष नेतृत्व समूहकाे सदस्य हुँ', नेपालले भने, 'तर, प्रतिबन्धकाे निर्णय मैले पत्रिकामा हेरेर थाहा पाएँ, यस्तो हुनु राम्रो हाेइन।' प्रतिबन्ध सहि या गलत छ भन्ने पत्रकारहरुकाे प्रश्नमा उनले अपराधीक गतिविधि गर्ने जाेकाेहिप्रति राज्य निरीह नबन्ने स्पष्ट पारे।
नेता नेपालले दुई अध्यक्षले मात्रै सरसल्लाह गरेर पार्टी र सरकार चलाएकाे आराेप लगाए। भने, 'दुई अध्यक्षले मात्रै सरसल्लाह गरेर नभई कमिटीमा छलफल भएर अघि बढ्नुपर्थ्याे, तर, त्यस्ताे हुन सकिरहेकाे छैन।'
मन्त्रीमण्डल फेरबदलका विषयमा पनि आफूसँग कुनै किसिमकाे छलफल नभएकाे बताए।
लामाे समयदेखि अन्याेलमा रहेकाे नेकपा एकता पक्रिया छिट्टै टुंगिने दाबी गरे। 'पार्टीकाे तल्लाे तहका कमिटी र जनवर्गीय सङ्गठनकाे एकता पार्टी अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुंगो लगाइन्छ', नेता नेपालले भने, 'यसका लागि निश्चित मापदण्ड बनाएर जानुपर्छ।'
आध्य जगतगुरु विभुषित महायाेगी सिद्धबाबा १००८ डाक्टर श्री वैश्णव कृष्णदास महाराजलाई नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन नेता नेपाल आज चितवन पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।