काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख नेताहरु फेरि देश दौडाहामा निस्किएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह अहिले देश दौडाहामा छन्।
वरिष्ठ नेता पौडेल चैत १३ गतेसम्मका लागि पूर्वी जिल्लाको भ्रमणमा निस्किएका हुन्। उनका साथमा केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, गगन थापा, पूर्व सांसद रेशम बानियाँलगायतका नेताहरु रहेका छन्। उनी सिन्धुली, सर्लाही, महोत्तरी र धनुषा लगायतका जिल्लामा आयोजित विभिन्न कार्यक्रमा सहभागि हुनेछन्।
पौडेल चैतको ८ देखि १३ गतेसम्म पूर्वी जिल्लाको भ्रमणमा गएकोे उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। उनले चैत ८ गते नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला प्रतिनिधिहरूको कार्यक्रमलाई सम्बोधन गर्नेछन्। त्यसैगरी पौडेलको चैत ९ गते सिन्धुली जिल्लाको मरिन गाउँपालिकाको कपिलकोटमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उनी चैत १० गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले मलंगवामा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। चैत ११ गते सर्लाही जिल्लामा हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुका साथै पौडेल सोही दिन महोत्तरीको जलेश्वरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुग्नेछन्।
यस्तै पौडेल चैत १२ गते महोत्तरीमा कार्यकर्ता प्रशिक्षणमा सहभागि भएर रात्रि बास बस्न जनकपुर जाने छन्। १३ गते कांग्रेस जिल्ला कार्यसमिति धनुषाको आयोजनामा सहिदनगर नगरपालिकाको यदुकुवामा हुने आमसभालाई सम्बोधन र सहिद रामसेवक यादवको सालिक अनावरण कार्यक्रम रहेको छ।
उता महामन्त्री डा शंशाक कोइराला भने आजबाट पश्चिम नेपालको भ्रमणमा निस्केका छन्। महामन्त्री कोइरालाले पाँच नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम तय गरेका हुन्। कोइराला आज बर्दियामा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनेछन्। चैत्र ११ गते बाँकेमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको उनका नीजि सचिव एवम् कांग्रेस महासमिति सदस्य भरत तिवारीले जानकारी दिए।
महामन्त्री कोइराला बाँकेपछि दाङ जाने कार्यक्रम छ। कोइराला चैत्र १५ गते पाल्पा पुग्ने कार्यक्रम तय भएको छ। उनले पाल्पामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्। १५ गते पाल्पा नै बसेर कोइराला चैत्र १६ गते गुल्मीका लागि प्रस्थान गर्ने बताइएकाे छ। उनी १६ गते गुल्मी बस्ने र चैत्र १७ गते कांग्रेसको गुल्मी जिल्ला सम्मेलनमा सहभागि भएर काठमाडौं फर्कने कार्यक्रम रहेको छ। कोइरालाका साथमा केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र कल्याण गुरुङ सहभागी छन्।
यता पूर्व महामन्त्री प्रकाशमान सिंह पनि आजबाट देश दौडाहामा निस्किने भएका छन्। नेता सिंह आइतबारबाट पूर्वी जिल्लाहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङको भ्रमणमा जाने उनका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिए।
लामिछानेका अनुसार सिंह चैत्र १० गते कांग्रेस झापाको आयोजनामा हुने छलफल कार्यक्रममा सहभागी हुनेछन्। यस्तै सोमबार इलाम, मंगलबार पाँचथर र बुधबार ताप्लेजुङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।
नेता सिंहसँगै केन्द्रीय सदस्य बलबहादुर केसी, हृदयराम थानी, सरिता प्रसाईं र काठमाडौं जिल्ला सभापति सबुज बाँनिया पनि टोलीमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।