जनकपुर– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले वर्तमान राजनीतिक परिवेशमा समृद्धिको नारा लगाउँदै नुन बेच्नेलाई जेल र सुन बेच्नलाई खुल्ला छोड्ने काम भइरहेकाे बताएका छन्।
धनुषाको धनुषाधाममा अजबलाल यादवको १७औं स्मृति दिवसका अवसरमा शनिबार धनुषाधाममा आयोजित कार्यक्रममा बोल्दै यादवले वर्तमान राजनीतिक परिवेशमा समृद्धिको नारा लगाउँदै नुन बेच्नेलाई जेल र सुन बेच्नलाई खुल्ला छोड्ने काम भइरहेकाे बताएका हुन्।
‘देश आज उल्टो दिशामा गइरहेको छ। यो स्वीकार गर्न सकिँदैन,’ यादवले भने, 'समाजवादको नारा लगाउनेहरु नै लुटतन्त्रमा लिप्त छन्।'
राजनीतिक पहुँचमा भएकाे व्यक्तिले आफ्नो समृद्धि मात्र चाहिरहेकोले समेत जनताले नेतालाई विश्वास गर्न गाह्रो भइरहेको औंल्याए। 'आफ्नै नातेदार मेयर, वडाध्यक्ष लगायतका पदमा हुनुपर्छ भने मनस्थितिको कारणले जनताले विश्वास गरिरहेको छैन', उनले भने, 'सहिद अजबलाल यादवका सपनाहरू पूरा भएका छैनन्। यसका लागि संघर्ष गर्छौं। आन्दोलन र समग्र नेपाली जनताको चाहनामाथि कुठराघात हुन दिन्नाैं।'
शिला यादवकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य प्रभु साह, बोध माया यादव, सुधीर कुमार यादव, जिल्ला कार्य समिति सदस्य एवम् प्रदेशसभा सदस्य राम चन्द्र मण्डल, किशोरी साह, प्रदेश कमिटी सदस्य भद्र देव राउत, झल्कु भिन्वार यादव, तेज नारायण यादव, रोशन यादव, राजकिशोर यादवलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।