काठमाडौं- वि. सं. २०६० को दशकपछि कविता लेख्न शुरु गरेका १७ कविको संयुक्त कवितासंग्रह ‘अनुहारको भीड’ सार्वजनिक भएको छ। शनिबार सर्वनाम थिएटरमा एक कार्यक्रमका बीच कवितासंग्रह सार्वजनिक गरिएको हो। इन्डिगो इंक पब्लिकेसन्सले बजारमा ल्याएको उक्त कवितासंग्रह बन्दना ढकाल, गुरुङ शुशान्त र राजन मुकारुङले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
व्यक्तिगत रुपमा कुनै कविताकृति प्रकाशनमा नल्याएका १७ जना कविका कविता समेटेर कवितासंग्रहका रुपमा संग्रहित गर्ने काम कवि एवं पत्रकार नवीन प्यासीले गरेका हुन्।
कवितासंग्रहमा प्यासीलगायत कविहरु अनमोल कँडेल, अर्पण उत्कर्ष, विवस बाबु, विनय सरगम, विष्णु सन्यास, जनक कार्की, जयन्ती मगर सरगम, मनोज मुश्किल, मनोज विश्वकर्मा, नवीन प्यासी, निर्भीकजंग रायमाझी, रसिक राज, समर्पण श्री, सम्पदा रिजाल, शरद ऋतु, शिखर भट्ट र सुरज रानाका कविता समावेश छन्। संग्रहको आवरण चित्र कवि एवं चित्रकार रसिक राजको रहेको छ।
'हामी चिठीपत्र, रेडियोको पुस्ताभन्दा पछाडिको पुस्ता एवं र प्रविधिका उस्ताद हाम्रा भाइबहिनीका पुस्ताभन्दा अगाडिको पुस्ता हौं, जो आफैंमा अधकल्चो लाग्छ मलाई,' कार्यक्रम औपाचारिक रुपमा सुरुवात गर्दै कवि प्यासीले भने, 'यस संग्रह हामीले बाँचिआएको समयलाई कसरी हेर्छौं भन्ने प्रश्नको उत्तर हो जस्तो लाग्छ। संग्रह यहाँहरुलाई दृष्टिकोणहरूको भीड पनि लाग्न सक्छ। तर यो कवितासंग्रह ती दृष्टिकोणहरूको भीड हो, जुन दृष्टिकोणहरूले एउटै कुरालाई फरक तरिकाले हेर्छन्।'
पछिल्लो सामाजिक परिवर्तनको द्रुत गति एवं राजनीतिक परिवर्तन झेलेर आएको ‘डिप्रेस्ड’ र ‘फ्रस्टेड’ पुस्ताले लेखेका १०२ कविता नयाँ शैली र शिल्पको रहेको टिप्पणी वक्ताद्वय उपन्यासकार राजन मुकारुङ र बन्दना ढकालको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।