काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आवश्यकताअनुसार विश्वविद्यालय खोल्न दिईनुपर्ने बताएको छ।
सरकारले नयाँ विश्वविद्यालय संचालनका लागि अनुमति दिन रोक लगाइरहेका बेला कांग्रेसले मुलुकमा जतिसक्दो धेरै विश्वविद्यालय खोलिनुपर्ने धारणा अघि सारेको हो।
विकास र सम्मृद्धिका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको भन्दै कांग्रेसले विकास र समृद्धिको नारा लगाएको सरकारले नयाँ विश्वविद्यालय संञ्चालनका लागि रोक लगाउन नमिल्ने तर्क गरेको हो।
शंकरदेव क्याम्पस नेविसंघ इकाईले शनिबार राजधानीमा गरेको संघीयतामा शिक्षा विषयक अन्तर्क्रियामा कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वविद्यालय खोल्न दिइनुपर्ने धारणा राखेका हुन्।
'धेरै विश्वविद्यालय संञ्चालनमा ल्याउन उपयुक्त र प्रभावकारी व्यवस्थापनको आवश्कता छ,' सभापति देउवाले भने।
कार्यक्रममा उपसभापति बिमलेन्द्र निधिले नयाँ विश्वविद्यालय स्थापनाका लागि सरकारले कानुनी प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा राखेका थिए।
त्रिभुवन विश्वविद्यालयका कतिपय क्याम्पस नै विश्वविद्यालय हुन सक्ने क्षमता राख्ने भन्दै उनले दर्जन बढीलाई सम्बन्धन दिन सक्ने गरी त्रिविको क्षमता विस्तार गरिनुपर्नेमा जोड दिएका थिए।
'धेरै विश्वविद्यालय खोल्दा गुणस्तरीयता कायम हुन सक्दैन भनेर नयाँ विश्वविद्यालयको अनुमति दिने सवालमा अनुदार हुनभन्दा सम्बन्धित र नियामक निकायबाट अनुगमन गर्ने व्यवस्था मिलाएर विश्वविद्यालय खोल्नु उचित हुन्छ,' उपसभापति निधिले भने, 'विश्वभरका विकसित देशले दक्ष जनशक्ति उत्पादनलाई नै मुख्य प्राथमिकता दिने गरेका छन्। विषयगत विश्वविद्यालय नखुलेसम्म विकासले फड्को मार्न सक्दैन।'
व्यवहारिक र विषयगत विश्वविद्यालय संञ्चालनलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा निधिको जोड थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।