सिन्धुली- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिस्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताएका छन्। सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले यसको प्रतिवाद गरिने उनले बताए।
नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले अहिलेको सरकार एक वर्षको अवधिमा पूर्ण असफल भएको बताए। 'ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार आफ्नो साथमा लिँदा लोकतन्त्र नै खतरामा परेको छ,' उनले भने।
शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार असफल भएको उनको आरोप छ।
विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत भएको नेता पौडेलको भनाइ थियो। 'कुनै पनि समूहलाई दबाबमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदममा पुनःविचार गर्नुपर्छ,' उनले भने। राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत सङ्ग्रह गर्न नसकिने उनले बताए। नेपाली काङ्ग्रेसले आइतबारदेखि ‘मधेस संवाद अभियान’ सञ्चालन गर्न लागेको पनि उनले जानकारी गराए।
काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि संस्थागत रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको उनले स्वीकार गरेका छन्। आफूले अहिले पार्टी नेतृत्वभन्दा पनि पार्टीमा देखिएको गुटको अन्त्य र पार्टीलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो। 'समय आए नेतृत्व लिन तयार छु,' नेता पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।