काठमाडौं– कवि तथा कथाकार विजय सापकोटाको किशोर उपन्यास ‘उडान’ बजारमा आएको छ। किशोरहरूका लागि पुस्तकको अभाव भइरहेको बेला उडान प्रकाशन आएको हो।
सापकोटाको ‘उडान’ उपन्यास किशोरहरूका समस्या, भावना र मनोविज्ञानमा आधारित छ।
उनीहरूका कतिपय सामाजिक, सांस्कृतिक र शैक्षिक समस्याहरूसित जोडेर यस उपन्यास लेखिएको लेखकले बताएका छन्।
बढ्दो यौन शोषण र सामाजिक सञ्जालको दुरुपयोगबाट कसरी किशोरहरू प्रताडित छन्? त्यसका लागि उनीहरू केके कुरामा कसरी सचेत हुनुपर्छ? र प्रेम के हो? भन्ने विषय उपन्यासमा छन्।
त्यस्तै उपन्यासले उठान गरेका केही अरु महत्वपूर्ण विषय छन्। आफ्नो काम आफैं गरौं, प्रश्न गरौं, आफ्नो शरीरमाथिको अधिकारप्रति सचेत रहौं भन्ने विषयहरू उपन्यासमा छन्।
जातीय विभेदले निम्त्याउने परिणाम र चलचित्र एवम् पुस्तक छनोटले पार्ने दुरगामी असरमाथि पनि पुस्तकले गम्भीर रुपमा सोच्न बाध्य पार्छ।
आत्मसाक्षात्कार र स्वयम् सचेत हुने बन्नका लागि उपन्यासले तयार पार्न सघाउँने बताइएको छ।
किशोर उपन्यास भइकन पनि बालबालिका, अभिभावक, शिक्षकलगायतले पढ्नैपर्ने किताब हो उडान भन्ने प्रकाशकको दाबी छ। पुस्तक शाब्दिक बुक्सले प्रकाशन गरेको हो।
सापकोटाको 'गाउँ खाेज्दै जाँदा' कविता सङ्ग्रह र 'अनावरण' कथासंग्रह प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।