काठमाडौं– कवि विमला तुम्खेवाको नयाँ कवितासंग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मानिस’ शनिबार सार्वजनिक भएको छ।
काठमाडौंको मण्डला थियटरमा कवि बैरागी काइँला, लेखक तथा राजनीतिज्ञ आहुति र महिला अधिकारकर्मी साबित्री थापाले पुस्तकको संयुक्त लोकार्पण गरे।
संग्रहमाथि बोल्दै कवि बैरागी काइँलाले कवितामा समसामयिकता मात्र भनेर बस्न नहुने बताए। ‘मानवीय मूल्य र मान्यता, अनुभव र अनुभूतिलाई साहित्यले बहन गर्यो भने त्यो सधैं र सबैको लागि हुनसक्छ,’ उनले भने, ‘यस कवितामा पनि नेपाली समाजको अहिलेको अवस्था, उँच/निच, धनी र गरिबको विभाजन, हुनेखाने र हुँदाखानेको कुरा, देश र परदेशमा बस्नेका कुरा, यी सबै कुरालाई तुम्खेवाले आफ्ना कवितामा व्यक्त गरेकी छन्।’
तुम्खेवाले लामो समयपछि वैचारिक र परिपक्क कविताहरू संग्रहमा ल्याएको उनले बताए।
कवि तोया गुरुङले विमलाका सबैजसो कविता सशक्त भएको दाबी गरिन्। ‘आजभन्दा २० वर्षअघि नै कवितामा निकै सम्भावना बोकेकी थिइन्। अहिले उतिकै सशक्त भएर आएका छन् उनका कविता,’ कवि तोया गुरुङले भनिन्।
संग्रहमाथि बोल्दै लेखक तथा राजनीतिज्ञ आहुतिले कवि तुम्खेवाले लामो समय माया प्रेमको कविता लेखे पनि यस संग्रहमा भने मुद्दामा टेकेर कविता लेखेकोमा खुसी व्यक्त गरे। उनले भने, ‘मुद्दामा टेकेर लेखेको कविताबाट विमलाले आफूलाई प्रमाणित गरिन्।’
महिला अधिकारकर्मी साबित्री थापाले विमलाको कविताहरू अब्बल र महिलाहरूको पक्षमा भएको बताइन्। लामो समयदेखि कविता कर्ममा सक्रिय विमलाको लेखनसँग आफू परिचित भएको भन्दै नेपाली साहित्यमा उनको अझै योगदान हुने बताइन्।
त्यसैगरी कवि तुम्खेवाले आफूले २५ वर्षसम्म केवल कवितामै साधना गरिरहेको बताइन्।
प्रेम र महिला अधिकारका मुद्दालाई कविताको विषय बनाउने तुम्खेवाको यो चौथो कविता संग्रह हो। तुम्खेवाका यसअघि 'विमला तुम्खेवाका कविताहरू', नदी ताल र तरंग, 'संस्मरण एउटा बुढो रुखको' कविता कृति प्रकाशित भइसकेका छन्।
संग्रहलाई सांग्रेला बुक्सले प्रकाशनमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।