काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले पार्टीका महामन्त्री शशांक कोइरालाको बोलीप्रति आपत्ति जनाएका छन्। पार्टीको आन्तरिक बैठकमा छलफलका लागि तयार नभई बाहिर बोल्नुको अर्थ नहुनेमा उनीहरुले कोइरालाको ध्यानाकर्षण गराए।
जिपी फाउन्डेसनले गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै नेता गगन थापाले पार्टीका महामन्त्री कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति प्रति आपत्ति जनाएका हुन्। पार्टीभित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरामा तुक नरहेको उनको भनाइ थियो। उनले भने, ‘जिम्मेवार नेताहरुले यस्तै गरिरहे पार्टी ठूलो भडखालोमा जाकिनेछ।’
गिरिजा प्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको सूत्रलाई आत्मसात गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा बोल्दै अर्का नेता शेखर कोइरालाले सरकारले संघीयता समाप्त पार्ने काम गरिरहेको आरोप लगाए। प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादतर्फ उन्मुख रहेको भन्दै उनले चाँडै हुन लागेको लगानी सम्मेलनमा सरकार आशातीत सफल सरकार नहुने दाबी गरे। विगतमा प्रतिबद्धताअनुरुप लगानी नआएको प्रति सरकारले लेखाजोखा नगरेको उनको भनाइ थियो।
फाउन्डेसनकी अध्यक्ष कांग्रेस नेतृ सुजाता कोइरालाले गिरिजाप्रसाद कोइरालाको अडानले पुनर्स्थापित संसदमार्फत नै केपी ओली प्रधानमन्त्री हुन पाएको दाबी गरिन्।
नेता लोकेश ढकालले राष्ट्रियतासँग कांग्रेसको सम्वन्ध विच्छेद भएको भन्दै चिन्ता व्यक्त गरे। महासमिति बैठकमा हिन्दुराष्ट्रका पक्षमा भएको हस्ताक्षरलाई सुनुवाइ नगर्ने महामन्त्री कोइरालाले बाहिर बोल्दै हिँडेर गल्ती गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।