विराटनगर- साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्ने नेपालको लक्ष्य चकनाचुर भएको छ। विराटनगरमा शुक्रबार भएको पाँचौ साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा भारतसँग ३-१ गोलले पराजित भएपछि नेपाल यसपटक पनि उपाधिविहीन भएको हो।
प्रतिस्पर्धात्मक खेलको २६ मिनेटमा भारतले पहिले अग्रता लिएको थियो। डालिमा छिब्बरले फ्रिकिङमा सुन्दर गोल गरिन्। हिराकुमारी भुलेजले फल गरेपछि प्राप्त फ्रिकिमा डालिमाले सुन्दर गोल गरेकी थिइन्।
नेपालले ३३ मिनेटमा बराबरी गोल फर्काएको थियो। मध्यभागबाट आएको बलमा सावित्रा भण्डारीले हेडमार्फत बराबरी गोल फर्काएकी थिइन्।
पहिलो हाफमा सावित्रा भण्डारीले पाएका तीन वटा अवसर खेल फालिन्। १९ मिनेटमा सावित्राले डिफेन्डरलाई छक्काउदै लगेर डिबक्स भित्रबाट हानेको प्रहार आकासियो। लगत्तै उनले हानेको प्रहारले पनि गोलपोस्टको दिशा लिन सकेन।
४५ मिनेटमा नेपालले अग्रता लिने अर्को मौका गुमायो। सावित्रा भण्डारीको पहिलो प्रहार भारतीय गोलकिपर हातमा लागेर फर्कियो। रिबाउन्डमा उनको प्रहारले गोलपोस्टको दिशा लिन सकेन।
भारतले ६३ मिनेटमा दोस्रो पटक अग्रता लिएको थियो। भारतकी ग्रेस दाङ्मेले ओपन पोस्टमा सहज गोल गरेकी थिइन्। नेपालका गोलकिपर र डिफेन्डर अघि बढेको मौका उनले सदुपयोग गरेकी थिइन्।
७८ मिनेटमा भारतले तेस्रो गोल गरेको थियो। अन्जु तामाङले डिबक्समा प्राप्त लागि तेस्रो गोल गरेकी थिइन्। उनको प्रहार नेपालकी गोलकिपर एन्जिला तुम्बाफो सुब्बाको हातमा लागेर छिरेको थियो।
८३ मिनेटमा नेपालले गोल गर्ने मौका गुमाएको थियो। सावित्राको प्रहार भारतकी गोलकिपर अदिती चौहानले रोेकेकी थिइन्। चौहान इंग्लिस क्लब वेस्ट ह्यामको महिला टिमबाट खेलिसकेको खेलाडी हुन्।
योसँगै भारतले लगातार पाँचौ उपाधि जितेको छ। नेपाल भने लगातार चार पटक फाइनलमा पुगेर पनि उपाधि विहिन बनेको छ। सुरुवाती तीन संस्करणमा नेपाललाई फाइनलमा भारतले हराएको थियो। अघिल्लो संस्करणमा भने नेपाललाई सेमिमफाइनलमा भारतले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।