भैरहवा- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रुपमा टुंगिने बताएका छन्। प्रधानमन्त्री ओलीले नेकपाको सबै तहको एकता आकस्मिक रुपमा टुंगिने बताएका हुन्।
‘चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिक रुपमा टुंगिएका छन्,’ उनले भने, ‘स्थानीय तहसहित सबै तहका एकता पनि आकस्मिक रुपमा नै टुंगिनेछ।’
उनले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेका छन्।
रुपन्देहीका दुई ठूला आयोजनाको उद्घाटन तथा शिलान्यास गर्न आउने क्रममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले सिके राउतले विखण्डन छाडेर विकासको बाटोमा आउन सहमत भएको स्मरण गर्दै ‘विप्लव’ समूहलाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताए।
‘विप्लव' समूहले विध्वंसात्मक गतिविधि गर्न छाडेको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘विप्लवलाई त्यसो नगर्नु भन्दा चित्त दुखाउनेहरु पनि छन्, यसले देश र स्वयम् विप्लव समूहलाई फाइदा गर्दैन, त्यसैले शान्तिको मार्गमा आउन हाम्रो आग्रह छ।’

प्रधानमन्त्री ओलीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 'एयर रुट' मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी समेत दिए। उनले विमानस्थल सञ्चालन हुनासाथ पर्यटकको आगमन ह्वात्तै बढ्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्रीले विमानस्थलको निरीक्षणसमेत गरेका थिए। उनले विमानस्थलको काम छिटो सक्न निर्देशन समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।