घादिङ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले समृद्धिको नारा लगाएर मुलुकमा सर्वसत्तावाद लाद्ने अभियानमा लागेको बताएका छन्।
धादिङको सिम्लेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले सबै अधिकार आफूमा केन्द्रित गरेर सर्वसत्तावादी बन्न लागेको बताएका हुन्।
कांग्रेस भइन्जेल सर्वसत्तावादीको सपना नदेख्न पनि उनले प्रधानमन्त्री ओलीलाई चेतावनी दिए।
पौडेलले भने, ‘प्रधानमन्त्री केपी ओली मुलुकको समृद्धि नारा लगाइरहनुभएको छ। तर मुलुक समृद्ध हुने काममा प्रगति भएकै छैन। ओलीजी सबै अधिकार आफैंमा केन्द्रित गरेर सर्वसत्तावादी बन्ने अभियानमा हुनुहुन्छ। तर कांग्रेसको रहुन्जेल सर्वसत्तावादको सपना नदेखे हुन्छ।’
कम्युनिस्टप्रति आक्रमक बनेका पौडेलले कम्युनिस्ट र राजावादीले मुलुकलाई अस्तव्यस्त बनाएको बताए। अहिले सत्तामा भएका कम्युनिष्ट हिंसामा उत्रिएका कम्युनिष्ट र सिके राउतहरु फेरि मुलुकलाई अस्तव्यस्त बनाउन लागेको आरोप उनको थियो।
‘हिजो सत्तामा भएका राजा र सत्ता बाहिर रहेका कम्युनिस्टको अतिवादले मुलुकलाई अस्तव्यस्त बनायो। आज फेरि सत्तामा कम्युनिस्ट अतिवाद, विप्लवको अतिवाद र तराईमा सिके राउतको अतिवाद छ। यी अतिवा कुनै न कुनै रुपमा एकै ठाँउमा भएर मुलुकलाई अस्तव्यस्त बनाउन लागेका छन्,’ नेता पौडेलको भनाइ थियो।
हिंसा गरेर देशलाई अस्तव्यस्त बनाउने कम्युनिस्टले अहिले आर्दशको कुरा गर्न नसुहाउने स्पष्ट पारेका पौडेलले दुई तिहाईको सरकारको एक वर्ष खेर गएको पौडेलको निष्कर्ष थियो।
‘प्रधानमन्त्रीजी कांग्रेसले सुरु गरेको विकासको अभियानलाई ठप्प पारेर समृद्धिको अभियान भने फलाकी रहनुभइएको छ। प्रतिपक्षले काम गर्न दिएन भन्दै हिड्नुभएको छ। के के भयो काम फेरिहस्त भनिदिए हुन्छ नि जनतालाई किन गुमराहमा राख्ने? प्रतिपक्षले काम गर्न दिएन भने बोल्दै हिड्न प्रधानमन्त्रीलाई लाज हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।