काठमाडौं- अनुशासन उल्लंघन गरेको भन्दै उजुरी परेका दुई नेता नै नेपाली कांग्रेसको अनुशासन समितिमा सदस्य चयन भएको भन्दै कांग्रेसका नेता/कार्यकर्ताले आपत्ति जनाएका छन्।
नवगठित समितिमा रहेका केन्द्रीय सदस्यद्वय देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरले पार्टीको आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ।
गत निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउन भुमिका खेलेको भन्दै राठौरलाई पूर्वमन्त्री गोपाल दहितले उजुरी गरेको बताइएको छ। राठौरविरुद्ध बर्दियाबाट उजुरी परेको हो।
समितिका अर्का सदस्य कँडेलविरुद्ध नवलपरासी जिल्लाबाट उजुरी परेको छ। निर्वाचनका बेला पार्टीमा अन्तर्घात गरेको आरोपमा उनलाई अनुशासनको कारबाही गर्न उजुरी परेको हो।
गत सोमबार बसेको केन्द्रीय समितिको बैठकले नेता भीष्मराज आङ्देम्बेको संयोजकत्वमा ५ सदस्यीय अनुशासन समिति बनेको थियो। समितिमा बहुमत सदस्य संस्थापन पक्षका नेता छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबाट क्रमशः धनराज गुरुङ र उमाकान्त चौधरी चयन भएका छन्। अन्य तीन जना संस्थापन पक्षका नेता हुन्।
चुनावमा पार्टीका उम्मेदवारलाई हराउन भुमिका खेलेको आरोप लागेकालाई अनुशासन समितिमा स्थान दिएको प्रति एक केन्द्रीय सदस्यले आपत्ति जनाए। उनले अनुशासन समितिले निष्पक्ष छानबिन गर्नेमा संशय व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।