विराटनगर- भारतीय महिला टिमकी प्रशिक्षक मेमोल नेडुगन्डन रकीले पाँचौ महिला साफ च्याम्पियनसिपको उपाधि जित्नेमा विश्वस्त रहेको बताएकी छिन्।
शुक्रबार नेपालसँग उपाधि भिडन्त गर्नुअघि भएको पत्रकार सम्मेलनमा उनले भारतीय टिम उपाधि जित्न आत्मविश्वासी भएपनि राम्रो खेल्ने टिमको पक्षमा जाने बताइन्। साथै फाइनलका लागि उत्साहित भएको पनि उनको भनाई छ। नेपाल र भारतबीच पाँचौ महिला साफ च्याम्पियनसिपको उपाधिका लागि शुक्रबार दिउँसो विराटनगरको सहिद मैदानमा प्रतिस्पर्धा हुँदैछ।
यो पनि - भारतको रेकर्ड तोडेर इतिहास रच्ने नेपालको दाबी
'फाइनल खेल्ने कुरा जहिले पनि उत्साहजनक हुन्छ। हामीले त्यसका लागि तयारी गरेका छौं। नेपालले पनि त्यस्तै तयारी गरेको छ,' उनले भनिन्,'पछिल्ला खेलमा के भयो भन्दा पनि हाम्रो लागि यो नयाँ प्रतियोगिता र नयाँ खेल हो। सबै नयाँ छन्। हामीले प्रतियोगिताको सुरुवात राम्रो गरेका थियौं र अन्त्य पनि त्यस्तै गर्छौ भन्ने विश्वास छ।'
नेपालको घरेलु मैदानमा खेल्दा कुनै दबाब नभएको पनि उनको भनाई छ। 'नेपालको घरेलु मैदानमा खेल्दा दबाब छैन। हामीले हङकङ र इन्डोनेसिया पनि खेलेका थियौं। ती खेलमा हामीले आफ्नै घरेलु मैदान जसरी खेलेका थियौं। हामी दर्कशको विरुद्ध खेल्न उत्साहित छौं,' उनले कुनै दबाब नभएको दाबी गर्दै भनिन्,'नेपालविरुद्धको खेलमा केहि परिवर्तन गर्न सक्छौं। दुई उत्कृष्ट टिम फाइनलमा पुगेका छन्। जसले राम्रो खेल्न सक्छौ उसैले उपाधि जित्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।