काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमले आज राति कुवेतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाली समयअनुसार आज राति सवा ९ बजे कुवेतको अल सबाब स्पोर्ट्स रंगशालामा खेल हुँदैछ।
नेपालले कुवेतसँग पाँचौ पटक खेल खेल्न लागेको हो। फिफा वरीयतामा नेपाल १ सय ६१ र कुवेत १ सय ५८ स्थानमा छन्।
खेलअघि नेपालका प्रशिक्षक योहान कलिनले जितका लागि खेल्ने बताएका छन्। उनले नेपालका लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण भएको बताए। साथै आफ्नो प्रशिक्षणमा नेपाली फुटबलको लामो यात्रा भएको बताउँदै कुवेत विरुद्धको खेल पहिलो पाइला भएको बताए।
स्विडिस प्रशिक्षक कलिनलाई किरण श्रेष्ठले सहायक प्रशिक्षकको भूमिकामा रहेर सहयोग गर्नेछन्।
यता कुवेतका प्रशिक्षक रोमियो जोज्याकले पनि जितका लागि खेल्ने बताएका छन्। उनले छोटो तयारी गरे पनि जितका लागि खेल्ने बताए।
नेपाल र कुवेतले दोस्रो मैत्रीपूर्ण खेल आगामी सोमबार खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।