जनकपुर- प्रत्येक वर्षझैं यसवर्ष पनि होली पर्वका अवसरमा जनकपुरधाममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामुर्ख सम्मेलन सम्पन्न भएको छ।
यसवर्ष महामुर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई दिइएको छ। मिथिला नाट्य कला परिषद (मिनाप)को आयोजनामा बुधबार सम्पन्न महामुर्ख सम्मेलनमा मेयर साहलाई महामुर्खको उपाधि प्रदान गरिएको हो।
यस्तै नेकपाका प्रदेश २ सांसद रामचन्द्र मण्डललाई बैशाखनन्दन, राजा प्रदेश सांसद प्रमेश्वर साहलाई डपौर शंख, नेपालकै कान्छो मेयर धनुषाका सहिद नगरपालिकाका मेयर उदय बरबरियालाई लोढा शंकर, साहित्यकार एवं कम्युनिष्ट नेता रोशन जनकपुरीलाई चपाटनन्दको उपाधि प्रदान गरिएको छ।
यस्तै राजपाका केन्द्रिय प्रवक्ता कृष्णा सिंहलाई वंश कुढारी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई मुसरीलाल, प्रध्यापक प्रमेश्वर कापरलाई हराशंख, नेपाल शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवलाई बज्रकीट, बस व्यवसायी संघका नेता मनोज चौधरीलाई वोतलानन्द, व्यवसायी हिराभगतलाई खेसारीलाल, कावित्री पुनम झा मैथिलीलाई मनतोरिया र सम्झना वर्मालाई जिलेवियाको उपाधी मिनापले प्रदान गरेको हो।
मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा हाँस्यव्यंग्य नाटक, गीतसंगीत कविता, जोगिरालगायत प्रस्तुत गरिएको थियो।
प्रस्तुति हेर्न जानकी मन्दिर प्रांगणमा दर्शकको घुइँचो लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।