काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सहमति भएको बताएका छन्। तर, उनले सहमतिबारे विस्तृत जानकारी नदिँदै युद्धविराम तत्काल लागू हुने बताएका बेला युक्रेनले आफ्नो ऊर्जा संरचनामा रुसी आक्रमण जारी रहेको जनाएको छ।
ट्रम्पले आइतबार सामाजिक सञ्जालमा छोटो सन्देश लेख्दै दुवै देशबीच ऊर्जा क्षेत्रमा युद्धविराम भएको बताएका हुन्। उनले सहमति तत्काल लागू हुने उल्लेख गर्दै भने, ‘यसलाई नतोड्नुहोस्।’
रुसले भने ट्रम्पको घोषणाबारे तत्काल कुनै प्रतिक्रिया जनाएको थिएन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको घोषणालाई स्वागत गर्दै सबैका लागि राम्रो खबर भएको बताएका छन्। तर, उनका अनुसार रुसले राजधानी किभ र खार्किभ सहरका ऊर्जा पूर्वाधारमा आक्रमण गरिरहेको थियो।
‘दुर्भाग्यवश, आज दिनभर युक्रेनको आकाशमा रुसी शाहेद ड्रोनहरू देखिएका छन्,’ आइतबार साँझ सम्बोधन गर्दै जेलेन्स्कीले भने, ‘ग्लाइड बमबाट आक्रमण भएका छन् र हाम्रो ऊर्जा पूर्वाधारलाई पनि निशाना बनाइएको छ। आज साँझ खार्किभको एउटा विद्युत् केन्द्रमा आक्रमण भयो।’
राष्ट्रपति कार्यालयले खार्किभको विद्युत् केन्द्रमा भएको आक्रमण ट्रम्पले युद्धविरामको घोषणा गरेपछि भएको पुष्टि गरेको छ। जेलेन्स्कीले युक्रेन रुसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न तयार रहेको बताउँदै रुसबाट पनि त्यस्तै प्रतिबद्धताको अपेक्षा गरेको उल्लेख गरे।
‘हामी रुसी ऊर्जा पूर्वाधारमा आक्रमण गर्नबाट रोक्न तयार छौं। रुस पनि त्यस्तै गर्न तयार हुनेछ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।