विराटनगर- पाँचौ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आयोजक नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ।
बुधबार विराटनगरको सहिद रंगशालामा भारतले बंगलादेशमाथि ४-० जित निकाल्दै नेपालसँग प्रतिस्पर्धा पक्का गरेको हो। यसअघि नेपालले बुधबार नै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ४-० हराउँदै चौथो पटक फाइनलमा स्थान बनाएको थियो। अब नेपाल र भारतबीच शुक्रबार दिउँसो उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
बुधबार भारतका लागि डालिमा छिप्परले १८ मिनेटमा पहिलो गोल गर्दा इन्दूमति काथेरसनले २२ र ३७ मिनेटमा गरी २ गोल गरिन्। यस्तै मनिसाले दोस्रो हाफको इन्जुरी टाइममा भारतका लागि चौथो गोल गरिन्।
भारत लगातार पाँचौ पटक फाइनलमा पुगेको हो। भारतले यसअघिका चारै संस्करणको उपाधि जितेको थियो। नेपाल र भारतबीच पाँचौ पटक साफमा प्रतिस्पर्धा हुन लागेको हो। यसअघि भएका चारै खेलमा नेपाललाई भारतलाई हराएको थियो।
यद्यपी पछिल्लो दुई खेलमा भने नेपालले भारतसँग हार बेहोरेको छैन। म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपालले भारतलाई बराबरीमा रोकेको थियो। यस्तै भारतमा आयोजना भएको हिरो महिला गोल्डकपमा नेपालले भारतमाथि जित निकालेको थियो। सो जित नेपालले भारतमाथि हात पारेको पहिलो तथा एकमात्र जित हो।
साफ च्याम्पियनसिपमा नेपालले भारतलाई अहिलेसम्म हराउन सकेको छैन। नेपाललाई भारतले सन् २०१० को पहिलो संस्करणको फाइनलमा, श्रीलंकामा सन् २०१२ मा भएको दोस्रो संस्करणको फाइनलमा र २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणको फाइनलमा गरी लगातार तीन फाइनलमा हराएको थियो। सन् २०१६ मा मा भारतमा भएको अघिल्लो संस्करणमा भने नेपाललाई भारतले सेमिफाइनलमा हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।