विराटनगर- विराटनगरमा भइरहेको पाँचौ महिला साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ।
चौथो पटक फाइनलमा पुग्ने क्रममा नेपालले बुधबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ४-० को जित हात पार्यो। नेपालले अब उपाधिका लागि भारत वा बंगलादेशसँग आगामी शुक्रबार विराटनगरको सहिद रंगशालामा खेल्नेछ।
फाइनल पुगेपछि नेपालका प्रशिक्षक हरि खड्काले नेपालले उपाधिका लागि तयारी गरेको प्रतिक्रिया दिएका छन्। उनले सेमिफाइनल खेलपछि दिएको प्रतिक्रिया यस्तो छ :-
सेमिफाइनल खेल जितेर फाइनलमा पुग्यौं। पहिलो हाफ सोचे जस्तो भएन। दोस्रो हाफमा हामी सफल भयौं। सम्पूर्ण खेलाडीहरुलाई कडा मिहिनेतका लागि बधाई दिन चाहान्छु र फाइनलका लागि शुभकामना दिन्छु।
पहिलो हाफमा हामीले बीचबाट बल लान खोजेकाले गोल हुन सकेन। दोस्रो हाफमा हामीले रणनीति परिवर्तन गर्यौ। क्रसहरु बढी भए त्यसैले हामीले गोल गर्न सफल भयौं।
विपक्षीले रक्षात्मक खेल खेल्छ भने कहिलेकाँहि स्कोर निकाल्न गाह्रो हुन्छ। तर हामीले दोस्रो हाफमा खेलमा सुधार ल्याउदा राम्रै स्कोरले खेल जित्न सफल भयौं। यी कमीकजोरी फाइनलमा नदोहोर्याउने लक्ष्यसाथ हामी अघि बढ्नेछौं।
आजको खेलबाट सन्तुष्ट छु। ४ गोलको अन्तर भनेको राम्रो नजिता हो। यसलाई निरन्तरता दिन्छौ भन्ने विश्वास छ।
हामी उपाधिका लागि तयारी गरेका छौं। हामीले लामो सयम कुरेका पनि छौं। हामी घरेलु मैदानमा मातृभूमीमा उपाधि जित्नेछौं।
हामी फाइनलमा बंगलादेश वा भारत जोसँग पनि खेल्न तयार छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।