कविता : यो होली कसको हो?

रोजिना बिष्ट | २०७५ चैत ६ बुधबार | Wednesday, March 20, 2019 १३:३०:०० मा प्रकाशित

होली छ साथी 
रङ्गहरू बिक्दैछन्
रङ्गहरू पोतिँदैछन् 
रङ्गहरू रमाइरहेका छन्।

यी रङ्गहरू उफ्रिन्छन् 
राता, काला, चम्कने, पहेँला थरिथरिका रङ्गहरू
रमाइरहेका छन् 
प्रेम, साथ, विश्वास र सम्मानको पर्व 
होली छ साथी 
तिमी घरभित्र बस्नु 
म मेरो दोपट्टामा कालो रङ्ग लिएर आउनेछु 
छिट्टै नलगाउनु तिमीले त्यो रङ्ग 
आमालाई देखाउनु, बहिनीलाई देखाउनु 
सक्छौ भने सबैका बुवाहरू हेरून्, अंकलहरू हेरून् 
दाइहरू हेरून् 
बालुवा जस्तै चाल्नु, गहुँ जस्तै केलाउनु 
आमा आत्तिन्छिन् होली 
बा फेरि मलाई दिवारमै थुन्लान् 
तर भोलि होली छ साथी 
कसैका लागिमात्र छ साथी 
यसपालि साहस नै गर्नु।

देखाइदिनु ती रङ्गका साना साना कणहरूमा 
मेरा कति खुसीहरू जलेछन् भनी
त्यहाँ मेरा हजार कथाहरू मध्ये एउटा आजको कथा छ 
सुनाइदिनु ठूलो आवाजमा 
बिर्सेर जन्मेकाहरू पनि सुनुन् 

मलाई पनि रङ्ग छुन मन हुन्छ 
सपनाहरू रङ्गाउन मन हुन्छ, 
यही समाजमा आफ्नो हाँसोसहित बाँच्ने मन हुन्छ 
हरेक बसन्तमा मेरो बसन्त देख्न चाहन्छु 
तर हाम्रो बसन्त हुन नदिन 
आफ्नो अस्तित्व बिर्सेका पुरुषहरू तल्लीन छन् 

यो खबर काठमाडौं बसन्तपुर:
साथीहरूसँग होली मनाउँदै गर्दा,
एकजना अपरिचित केटा मेरो अगाडि आयो,
ऊ रङ्गसहित मतिर पोखियो  
बिना अनुमति मेरो अनुहारमा उसको हात 
अनि उसका डरलाग्दा पन्जाहरू मेरा ओठ नजिक पुगे 
केही बेरमै 
उसका हातहरूले 
मेरो स्तन, मेरो शरीर र मेरा हरेक अङ्गहरूमा, रङ्ग पोत्न थाल्यो 
म चिच्याएँ, कराएँ, रोएँ
तर मेरो आवाज सुनिदिने कोही भएन
भन्दिनु सबैले बुझ्नेगरी  
यो समाज तिम्रो मेरो सबैको हो 
खुसी तिम्रो मेरो सबैको हो
यो होली तिम्रो मेरो सबैको हो 
बुझिदिनु यो रङ्गको पर्व हो भनी