विराटनगर- नेपाल साफ महिला च्याम्पियनसिपमा चौथो पटक फाइनलमा प्रवेश गरेको छ। बुधबार विराटनगरको सहिद रंगशालामा भएको पाँचौ संस्करणको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ४-० गोलले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो।
नेपालले अब उपाधिका लागि बुधबार नै हुने भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
बुधबार नेपालको जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरे।
४२ मिनेटमा नेपालले अग्रता लिएको थियो। पुनम जर्घामगरले नेपाललाई अग्रता दिलाएकी हुन्। सावित्री भण्डारीको हेड पासमा उनले डिबक्स भित्रबाट गोल गरेकी थिइन्।
त्यसअघि १० मिनेटमा अनिता बस्तेनको कर्नरमा कप्तान निरु थापाको हेडर थोरैले बाहिरियो।१६ मिनेटमा सावित्री भण्डारीले डिबक्स भित्रबाट हानेको प्रहार सिधै श्रीलंकाकी गोलकिपरको हातमा परेको थियो। यस्तै मन्जलीकुमारी योन्जनको प्रहार पनि पहिलो बारबाट बाहिरियो।
३६ मिनेटमा श्रीलंका इरान्डी लियानागीविरुद्ध वान भर्सेस वानको अवस्थामा नेपालीकी गोलकिपर एन्जिला सुब्बाले उत्कृष्ट बचाउ गरेका थिइन्।
६० मिनेटमा अनिता बस्नेतको प्रहारलाई श्रीकंकाकी गोलकिपरले मुस्किलले बचाइन्।
७३ मिनेटमा अनिता बस्नेतले नेपालको अग्रता दोब्बर पारिन्। उनले श्रीलंकाकी गोलकिपरले फर्काएको बलमा रिबाउन्डमा गोल गरेकी थिइन्।
८२ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि तेस्रो गोल गरिन्। सावित्राले अनिता बस्नेतको क्रसमा सावित्राले डिबक्स भित्रबाट हेडमार्फत गोल गरेकी थिइन्। लगत्तै सावित्राले नेपालका लागि चौथो गोल गर्ने अवसर गुमाइन्। उनले श्रीलंकाकी गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा गरेको हेड पोल नजिकबाट बाहिरिएको थियो।
खेल सकिन ४ मिनेट बाँकी छदा नेपालले चौथो गोल गर्यो। यसपटक पनि अनिताले दिएको पासमा रेखा पौडेलले गोल गरेकी हुन्। उनी कप्तान निरु थापाको स्थानमा ६५ मिनेटमा मैदान छिरेकी थिइन्।
साफ महिला फुटबलको समूह 'ए' मा रहेको नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। नेपालले समूहमा भुटान र बंगलादेशमाथि समान ३-० को नतिजा निकालेको थियो।
तीन संस्करणमा लगातार फाइनलमा
सन् २०१० मा बंगलादेशमा भएको पहिलो महिला साफमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ६–०, अफगानिस्तानलाई १३–० र पाकिस्तानलाई १२–० ले हराएको थियो। सेमिफाइनलमा आयोजक बंगलादेशमाथि ३–०को जित निकाल्दै नेपाल फाइनलमा पुगेको थियो। तर फाइनलमा भारतसँग १–० ले पराजित हुँदा नेपाल उपाधिबाट विमुख बनेको थियो।
सन् २०१२ मा श्रीलंकामा भएको दोस्रो साफमा नेपालले समूह चरणमा पाकिस्तानलाई ८–०, माल्दिभ्सलाई ५–० र अफगानिस्तानलाई ७–१ ले हराएको थियो। साफमा भारतबाहेक नेपालविरुद्ध गोल गर्ने टिम अफगानिस्तान मात्र हो। सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकामाथि ३–० को जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो। त्यतिबेला पनि नेपाल फाइनलमा भारतसँग ३–१ ले पराजित हुँदा उपविजेतामै सीमित बन्यो।
सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले समूह चरणमा भुटानलाई ८–०, आयोजक पाकिस्तानलाई २–० र श्रीलंकालाई ३–० ले पराजित गर्यो। सेमिफाइनलमा बंगलादेशमाथि १–० को जित निकालेर नेपाल लगातार तेस्रो पटक फाइनलमा पुग्यो। फाइनलमा भारतसँग ६–० को फराकिलो अन्तरको हार बेहोर्दा नेपालको लक्ष्य फेरि पूरा हुन सकेन।
सन् २०१६ को पछिल्लो साफ भारतमा आयोजना भएको थियो। समूह चरणमा नेपालले भुटानमाथि ६–० को जित निकालेर सानदार सुरुवात गर्यो। दोस्रो खेलमा माल्दिभ्सलाई ९–० र तेस्रो खेलमा श्रीलंकालाई १–० ले हराएर नेपाल सेमिफाइनलमा पुग्यो। त्यतिबेला सेमिफाइनलमा नेपाल र भारत भिडेका थिए। फेरि पनि नेपालको उपाधि यात्रामा भारत नै बाधक बन्यो। भारतसँग ३–१ ले पराजित हुँदा नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो।
नेपाली टिम
गोलकिपर- एन्जिला तुम्बापो सुब्बा
डिफेन्डर - पुनम जर्घामगर, हिराकुमारी भूजेल, गीता राना, मनमाया लिम्बु
मिडफिल्डर - मन्जलीकुमारी योन्जन, दीपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत
फरवार्ड - निरु थापा (कप्तान), सावित्रा भण्डारी
प्रशिक्षक- हरि खड्का
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।