काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगितामा खेल्न भारत प्रस्थान गरेका छन्।
आइपिएल टिम दिल्ली क्यापिटलमा दोस्रो सिजनका लागि आबद्ध सन्दीप बुधबार दिल्लीतर्फ उडेका हन्।
गत सिजन दिल्लीबाट खेल्दै आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटरको इतिहास बनाएका थिए। दिल्लीले सन्दीपसहित १४ खेलाडीलाई रिटेन गरेको थियो। नयाँ खेलाडीको रुपमा शिखर धवनलाई ५ करोड २० लाख भारुमा भित्र्याएको छ। दिल्लीको टिमबाट गौतम गाम्भिर, जासन रोय, ग्लेन म्याक्सवेल जस्ता खेलाडी भने बाहिरिएका छन्। सन्दीप गत सिजन ३२ लाख रुपैयाँमा दिल्लीमा आबद्ध भएका थिए।
दिल्लीको टिम
आवेश खान, बन्दरु एयाप्पा, अंकुश बइन्स, ट्रेन्ट बोल्ट, शिखर धवन, कोलिन इनग्राम, श्रेयस इयर, सन्दीप लामिछिने, मन्जोत कार्ला, अमित मिश्रा, क्रिस मोरिस, कोलिन मुनरो,रिशव पन्त, अक्षर पटेल, हर्षल पटेल, किमो पाउल, कागिसो राडाबा, सेरफान राथफोर्ड, जलाद सक्सेना, इसान्त शर्मा, पृथ्वी साह, नथु सिंह, रहुल टेवइटा, हनुमा बिहारी, जयन्त यादव
दिल्लीको पहिलो खेल आगामी आइतबार मुम्बइ इन्डियन्ससँग छ।
गत सिजन उनले सुरुवाती खेलमा मौका पाउन सकेनन्। लगातार कमजोर प्रदर्शन गरेको दिल्ली आइपिएलको पहिलो चरणबाटै बाहिरिएपछि सन्दीपले बाह्रौं खेलमा मौका पाए।
उनले गत सिजनको आइपिएलमा विश्वका चर्चित खेलाडी विराट कोहली तथा एबी डिभिल्लर्सलाई समेत हैरान बनाउने गरी बलिङ गरेका थिए। सन्दीपले आइपिएलका पछिल्ला ३ खेलमा ५ विकेट लिएका थिए।
२०१८ को जनवरीमा आइपिएलमा छनोट हुने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीपले त्यसपछि भने आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा पछाडि फर्केर हेर्नुपरेको छैन।
आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेपछि उनले क्यारेबियन प्रिमियर लिग(सिपिएल), ग्लोबल टि–२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, टी-१० लिग युएई, बिग बास लिग अस्ट्रेलिया, बंगलादेश प्रिमियर लिगहुँदै पाकिस्तान सुपर लिगको यात्रा तय गरे। सन्दीप पाकिस्तान सुपर लिग खेलेर स्वादेश फर्किएका थिए। त्यसपछि उनी दिल्लीतर्फ उडेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।