टोकियो– जापानी ओलम्पिक कमिटिका प्रमुख सुनेकाजु ताकेदाले आफ्नो पदबाट राजीनामा दिएका छन्। सन् २०२० को ओलम्पिक आयोजना गर्ने जिम्मेवारी टोकियोलाई दिँदा घुस खुवाएको आरोप लागेपछि ताकेदाले मंगलबार पदबाट राजीनामा दिएका हुन्।
फ्रान्सका एक अभियोजनकर्ताले ताकेदामाथि अनुसन्धान गरिरहेका छन्। उनले ओलम्पिक आयोजनाको जिम्मेवारी पाउन जापानका तर्फबाट ताकेदाले २ मिलियन युरो घुस दिएको आरोप लगाएका छन्।
सन् २०१३ मा स्पेनको मड्रिड र टर्कीको स्तानबुललाई पछि पार्दै जापानको टोकियोले आगामी ओलम्पिक खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको थियो।
मंगलबार पत्रकार सम्मेलन गर्दै ताकेदाले भने, ‘मलाई लाग्दैन कि मैले कुनै गैरन्यायिक काम गरेको छु।’ उनले ओलम्पिक आयाेजनाकाे जिम्मेवारी दिने सम्बन्धमा आफू पुन निर्वाचन गर्ने पक्षमा भने नरहेको स्पष्ट पारे।
यस्तो बनिबनाउ समाचारले मलाई दुखित तुल्याएको छ। तर, मलाई लाग्छ कि मेरो जिम्मेवारी बाँकि रहेको समय सेवा गर्नु नै हो’, उनको भनाइ थियो।
ताकेदाको पदावधि आगामी जुनमा सकिँदै थियो।
जापान सरकारले भने टोकियोलाई जिम्मेवारी दिने कार्यमा कुनै पनि आर्थिक चलखेल नभएको दाबी गर्दै आएको छ।
जुन कम्पनीसँग आर्थिक कारोबार गरिएको छ उक्त कम्पनीसँग पूर्व विश्व एथलेटिक्स महासंघ प्रमुख लामिन डिएकका छोराको सम्बन्ध रहेको फ्रान्सेली अभियोजनकर्ताले दाबी गरेका छन्। जापानलाई सो जिम्मेवारी दिने क्रममा डिएक ओलम्पिक कमिटिको सदस्य थिए।
‘यसबाट पनि सो क्रममा भ्रष्टाचार भएको पुष्टि हुन्छ’, अभियोजनकर्ताको दाबी छ। सो कारोबारमा डिएकका छोरा पापा मासाता डिएकको संलग्नता रहेको बताइए पनि उनले भने आफ्नो संलग्नताबारे खण्डन गर्दै आएका छन्।
जापान ओलम्पिक कमिटिले भने सो घटनामा कुनै पनि सरकारी अधिकारीको संलग्नता नरहेको दाबी गरिसकेको छ। जापान सरकारले तयार गरेको सन् २०१६ मा तयार एक प्रतिवेदनमा सो रकम कानुनीरुपमै परामर्श सेवाका लागि दिइएको बताइएको छ।
ताकेदा अनुभवी ओलम्पिक अधिकारी हुन्। उनले सन् १९७२ र १९७६ मा सो जम्परका रुपमा ओलम्पिकमा सहभागिता जनाएका थिए। उनी सन् २००१ देखि नै जापानको ओलम्पिक कमिटिको अध्यक्ष छन्।
ताकेदाको राजीनामापछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी)ले उनको निर्णयको स्वागत गरेको छ। ‘हामी आइओसीका सदस्यका रुपमा राजीनामा दिएकोमा ताकेदाको निर्णयको सम्मान गर्छौं’, आइओसीले भनेको छ, ‘यो फैसलाप्रति हाम्रो अधिक सम्मान छ किनकी यो कदम ओलम्पिक आन्दोलनको रक्षाका लागि उठाइएको थियो। जबकी निर्दोषपनप्रति विचार गरिएको थियो। यसमा आइओसी जोड दिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।