काठमाडौं– संयुक्त राज्य अमेरिका पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’विरुद्ध परेको उजुरी कार्यान्वयन नहुने तर्क उनी निकट स्रोतहरुले दाबी गरेका छन्।
केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा तिलक श्रेष्ठले पत्नी सीता दाहालको उपचारर्थ अमेरिका पुगेका प्रचण्डविरुद्ध उजुरी गरेका थिए। श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका हुन्।
तर, प्रचण्ड निकट नेताहरुले ‘अध्यक्ष प्रचण्ड ‘नो इन्भेष्टिगेशन’सहितको आन्तरिक सर्कुलर लिएर अमेरिका पुगेको’ बताएका छन्। ‘उहाँले कानुनी समस्या झेल्नु पर्ने छैन, ढुक्क हुनुहोस् अध्यक्षलाई त्यहाँ केही हुँदैन’, नेपाल लाइभसँग कुराकानी गर्दै उनी निकट एक नेताले भने, ‘उजुरी पर्दैमा केही हुँदैन। उजुरी पर्छ भन्ने उहाँलाई थाहा थियो। ’
’आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएको छन्। उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए। उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए। पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिकाको जोन होप्किन्स अस्पतालमा छन्,’ डा श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ।
प्रचण्डलाई अमेरिकाले पूर्वआतंककारीको सूचीमा राखेको र उनी अमेरिका रहेकाले युद्ध अपराधमा पक्राउ गर्नुपर्ने माग गर्दै श्रेष्ठले उजुरी दिएपनि अमेरिकाले प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ भनिने आन्तरिक सर्कुलर जारी गरेको दाबी ती नेताको छ।
प्रचण्ड अमेरिका उड्नुअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले ‘कुनैपनि कानूनी झमेला नहुने’ विश्वस्त पारेको भनाइ स्रोतको छ। ‘अमेरिकी राजदूत प्रचण्ड निवास खुमलटार पुगेर नै यसबारे विश्वस्त पारेका हुन्,' ती नेताले भने, ‘यस्तो सर्कुलर जुनसुकै देशका भिभिआइपीको भ्रमणमा लागू हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।