काठमाडौं– नेपाली कांग्रेसले आफ्नो अनुशासन समितिलाई पूर्णता दिएको छ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले समितिमा रिक्त रहेको दुई जनाको नाम थप गरेको हो।
आजको बैठकले अनुशासन समितिमा उमाकान्त चौधरी र धनराज गुरुङलाई चयन गरेको हो।
यो निर्णयसँगै अनुशासन समितिले पूर्णता पाएको छ।
सोमबारको बैठकले भीष्मराज आङदम्बेको अध्यक्षमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर सदस्य रहेको समिति गठन गरेको थियो।
त्यस्तै, बैठकले राधेश्याम अधिकारीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति पनि गठन गरेको छ। सो समितिमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र टेकराज पौडेल सदस्य छन्।
त्यस्तै, बैठकले नेता रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति पनि गठन गरेको छ। समितिमा अन्य सदस्यमा मीनबहादुर विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल छन्।
त्यस्तै, पार्टीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हिंसात्मक गतिविधि त्यागेर वार्तामा आउन अपील पनि गरेको छ। उसले सरकारलाई पनि वार्ताका लागि पहल गर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।