लन्डन– जुभेन्टस फरवार्ड क्रिस्चियानो रोनाल्डोमाथि २० हजार युरो जरिवाना लगाइएको छ। गोल गरेपछि सेलिब्रेसनका क्रममा अनुचित व्यवहार देखाएको भन्दै युनियन अफ युरोपियन फुटबल एसोसियसन (युइएफए)ले रोनाल्डो माथि जरिवाना लगाएको हो।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत एथलेटिको मड्रिडसँग भएको खेलमा मर्यादाविपरीतको व्यवहार देखाएको भन्दै कारबाहीस्वरुप जरिवाना गरिएको युइएपएले जनाएको छ।
अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा जुभेन्टस एथलेटिको मड्रिडसँग २–० ले पराजित भएको थियो। तर, दोस्रो लेगको खेलमा रोनाल्डोको ह्याट्रिक गोलको मदतले जुभेन्टस अन्तिम ८ मा प्रवेश गरेको थियो। ह्याट्रिक गरेपछि खुसी साट्ने क्रममा रोनाल्डोले देखाएको व्यवहार अमर्यादित रहेको युइएफएको ठहर छ।
यस सम्बन्धमा युइएफएले आगामी बिहीबार रोनाल्डोविरुद्ध मुद्दा दायर गर्ने जनाएको छ।
जुभेन्टसले क्वार्टरफाइनलमा डच क्लब अजाक्सको सामना गर्नेछ।
च्याम्पियन्स लिगमा राेनाल्डाेले हालसम्म १ सय २४ गाेल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।