काठमाडौं- पुष्पपराग साहित्य प्रतिष्ठानको वार्षिक दिवस तथा स्रष्टा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ। प्रा डा वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कवि गोविन्दराज विनोदीलाई १० हजार रुपियाँ राशिको पुरस्कारसहित 'पुष्पपराग वर्ष सम्मान' प्रदान गरियो।
प्रा डा माधवप्रसाद पोखरेललाई 'नील–गङ्गा भाषा साहित्य पुरस्कार' तथा कवि दिव्यलक्ष्मी पोखरेललाई 'तिलकुमारी खड्का स्मृति पुरस्कार'ले पुरस्कृत गरियो। उक्त पुरस्कार राशि क्रमशः १० हजार र ५ हजार रुपैयाँ रहेको छ।
प्रतिष्ठानले वरिष्ठ गजलकार एवम् समालोचक डा घनश्याम परिश्रमीलाई मानार्थ सदस्य, साहित्यकार मुकुन्द न्यौपानेलाई पुष्पपराग सम्मानपत्र तथा विन्दु ढकाल र प्रजापति तिमिल्सिनालाई आजीवन सदस्यता प्रदान गरेकाे छ।
कवि विनोदीका बारेमा प्रा डा वेदव्यास उपाध्याय, प्रा डा माधवप्रसाद पोखरेलका बारेमा डा सुकुम शर्मा र कवि दिव्यलक्ष्मी पोखरेलका बारेमा डा गीता त्रिपाठीले आ–आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए।
यसैगरी कवि निर्मोही व्यासको मुक्तक सङ्ग्रह ‘तस्वीर तिम्रै’ र कवि टीएन भट्ट 'विश्वामित्र'को कविता सङ्ग्रह ‘सूर्यपुत्र’ विमोचन गरियाे। तस्वीर तिम्रै मुक्तक सङ्ग्रहमाथि कवि तथा समालोचक डा रामप्रसाद ज्ञवाली र डा लेखप्रसाद निरौलाले समीक्षा गरेका थिए।
प्रतिष्ठानका अध्यक्ष डा यज्ञेश्वर निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा डा वासुदेव त्रिपाठी, प्रा डा माधवप्रसाद पोखरेल र प्रा राजेन्द्र सुवेदीले कार्यक्रमको गरिमा एवम् महिमाका बारेमा चर्चा गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।