काठमाडाैं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिको विकास र प्रवर्द्धनलाई व्यवस्थित र मर्यादित बनाउँदै साइबर सुरक्षा र अपराध नियन्त्रणका लागि सरकारले 'सूचना प्रविधि विधेयक' ल्याएको स्पष्ट पारेका छन्।
सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा आइतबार संसदिय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री बाँस्कोटाले साइबर सुरक्षासँग जोडर विधेयक ल्याइएको स्पष्ट पारे। प्रविधिको विकाससँगै विकृति पनि आउने भएकाले त्यसको सही व्यवस्थापन मुख्य चुनौतीको विषय रहेको भन्दै उनले विधेयकबाट कोही पनि डराउनु वा आत्तिनु नपर्ने उल्लेख गरे।
विद्युतीय माध्यमबाट हुने अपराधिक गतिविधि नियन्त्रण गर्दै साइबर सुरक्षाको प्रबन्ध गर्नु तथा डिजिटल हस्ताक्षरसम्बन्धी नयाँ व्यवस्था सहितका कैंयौं राम्रा विषय विधेयकमा समावेस भएको उनले दाबी गरे। स्वतन्त्रताको कुरा गर्दा राष्ट्रिय दायित्व र भूमिका बिर्सन नहुने भन्दै उनले नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने स्पष्ट पारे।
उनले स्वतन्त्रताको कुरालाई सूचना प्रविधिसँग जोडेर भ्रम फैलाउने काम नगर्न पनि सचेत गराए। सामाजिक सञ्जाल र पत्रकारिताको विषय फरक भएको दुबैले आ-आफ्ना मूल्य, मान्यता र मापदण्डभित्र बस्नुपर्ने तर्क उनको थियो।
विश्वव्यापी सञ्चालनमा आएका सामाजिक सञ्जालका कम्पनीहरु नेपालमा दर्ता नभए के गर्ने भन्ने प्रश्न गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले स्वतन्त्रताको नाममा कर छल्ने काम गर्न सरकारले नदिने स्पष्ट पारे।
कार्यक्रममा विज्ञहरुले विधेयकमा प्राविधिक विषयहरुमा व्याख्यासहित स्पष्ट बनाउन, प्रत्यायोजित अधिकार किटानी गर्न, प्राकृतिक न्यायको सिद्धान्त समावेस गर्न तथा सजाय र कारबाहीको व्यवस्थालाई परिमार्जन गर्न सरकारलाई सुझाव दिएका थिए।
सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले प्रतिनिधिसभाको विषयगत समितिमा विचाराधीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।