गाईघाट– उदयपुर जिल्लाको त्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जंगलको विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता व्यापक आगलागी सुरु भएको छ।
नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथ्याई सामुदायिक वनक्षेत्रमा व्यापक आगलागी बढ्दै गएपछि अहिले जिल्ला वन कार्यालयको नेतृत्वमा स्थानीय सामुदायिक वनसहितका टोलीले आगलागी नियन्त्रण सुरु गरेको छ।
मोथ्याई चुरे क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो गाउँक्षेत्रमा प्रवेश गर्ने खतरा बढेपछि जिल्ला वन कार्यालयको अगुवाइमा सामुदायिक वन, स्थानीयवासीसहित ५० जनाले दुई दिन लगाएर शनिबार दिउँसोसम्ममा डढेलो पूर्णरूपमा नियन्त्रण गरेको उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले जानकारी दिए।
यस्तै नगरपालिकाको त्रिवेणी सामुदायिक वन मोतिगडा चुरे क्षेत्रमा पनि दुई दिनदेखि व्यापकरूपमा डढेलो बढ्दै गएपछि जिल्ला वन कार्यालय उदयपुरको अगुवाइमै शनिबार बिहानैदेखि दिनभरि डढेलो नियन्त्रण कार्य भइरहेको र अहिले सो क्षेत्रमा वनको कर्मचारीसहित स्थानीयवासी गरेर ४० जना डढेलो नियन्त्रणमा खटिरहेको पनि अधिकृत यादवले बताए।
चुरे क्षेत्रका सनुवा, जोगिदह, मोथ्याई, मोतिगडा, भुल्केसहितका झण्डै एक हजार ५०० बढी घरपरिवार रहेको गाउँ खतरामा परेपछि डढेलो नियन्त्रण अभियानलाई तीव्रता दिइएको वन कार्यालयले बताएको छ।
तीन दिनभित्र ५० हेक्टर बढी क्षेत्रफलको डढेलो नियन्त्रण गरिसकिएको सम्बद्ध पदाधिकारीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।